काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण बढ्दै गएपछि यसको नियन्त्रणका लागि एक साता लकडाउन थप्ने तयारी गरेको छ ।
लकडाउन थप्ने विषयमा निर्णय लिन प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अपराह्न ४ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् । मन्त्रिपरिषदको बैठकले लकडाउन एक साता थप्ने संभावना रहेको छ ।
अत्यावश्यक सेवालाई अझ बढी प्रभावकारी बनाउन उपप्रधान तथा रक्षामनत्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले कार्ययोजना बनाएको छ । सो कार्ययोजना पनि आजकै मन्त्रिपरिषद बैठकले स्वीकृत गर्ने बताइएको छ ।
मन्त्रिपरिषद बैठकबाट राहातको घोषणा हुने अनुमान गरिएको छ । लकडाउनबाट काम गरेर दैनिक गुजारा चलाउने व्यक्ति बढी प्रभावित भएकाले उनीहरुलाई राहात दिने योजना आउने संभावना छ ।
दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै सोमबार उच्चस्तरीय समन्वय समितिले मंगलबारदेखि एक साताका लागि लकडाउन घोषणा गरेको थियो । लकडाउन सोमबार अर्थात चैत १८ गतेसम्म कायम रहनेछ ।कोरोनाबाट हालसम्म ५ जना संक्रमित भएका छन । एक जना उपचारपछि घर फर्किसकेका छन ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिने लकडाउन एउटा मात्र विकल्प भएको निश्कर्ष सरकारको छ । छिमेकी भारतले ३ साता लकडाउनको घोषणा गरिसकेको छ । यस्तै अन्य मूलुकहरुमा पनि लकडाउन जारी छ ।
यस्तै तरकारी, खाद्यान्न, इन्धनलगायतका अत्यावश्यक सामाग्री खरिदका लागि मानिसहरु घर बाहिर ठूलो संख्यामा बाहिर आउन नदिन होम डेलिभरीको संयन्त्र खडा गर्ने र टोलटोलमा आपूर्ति गर्ने योजना छ ।
भारतले निर्माण क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने र अति विपन्नलाई केही राहत प्याकेज घोषणा गर्ने तयारी गरेको छ ।