काठमाडौं । मन्त्रीपरिषद् बैठकले नयाँ गभर्नर सिफारिस समिति बनाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटा र पूर्व गभर्नर विजयनाथ भट्टराईसहितको तीन सदस्य समिति बनेको हो ।
सरकारले एक महिना अघि नै नयाँ गभर्नर नियुक्त गर्नु पर्ने कानुनी व्यवस्था भए पनि त्यसलाई पालना गरेको देखिएन । चैत ९ गते बसेको मन्त्रीपरिषद् बैठकले नयाँ गभर्नर सिफारिस समिति बनाएको हो ।
चैत ५ गतेबाट राष्ट्र बैङ्कमा गभर्नरको पद खाली भएको छ । अर्थमन्त्री डा. खतिवडाले चैत ५ गते अघि नै गभर्नर आउने बताए पनि त्यो हुन सकेन । नयाँ गभर्नर सिफारिस समिति नै चैत ९ मा बनेको छ । अहिले कामु गभर्नर चिन्तामणि सिवकोटीले केन्द्रीय बैङ्कको जिम्मेवारी सम्हालेका छन् । १८ वर्षको अवधिमा सिवाकोटी कार्यबाहक गभर्नरको जिम्मेवारी पाउने दोस्रो व्यक्ति हुन् । यस अघि कृष्णबहादुर मानन्धरले करिब २२ महिना कार्यबाहक गभर्नरको जिम्मेवारी सम्हालेका थिए ।
उनी गभर्नरका लागि दौडमा पनि छन् । वर्तमान अवस्थामा पनि अर्थमन्त्री डा. खतिवडा कार्यबाहक गभर्नर सिवाकोटीलाई गभर्नर बनाउने पक्षमा छैनन् । तर, प्रधानमन्त्री ओलीले सिवाकोटीलाई गभर्नर बनाउन चाहेका छन् । यद्यपि, भावि गभर्नरका लागि सिवाकोटी सहित अर्का डेपुटी शिवराज श्रेष्ठ, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ, मुख्य सचिव लोकदर्शन रेग्मी, पूर्व अर्थ सचिव डा. राजन खनाल, पूर्व राजस्व सचिव तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार लालशंकर घिमिरेलगायतका व्यक्ति गभर्नरका दौडमा छन् ।
कायमुकायम गभर्नरको जिम्मेवारी पाउने सिवाकोटी दोस्रो, के पूर्ण गभर्नर बन्लान ?
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपणका कारण मन्त्रीपरिषद् बैठक बस्न सकेको थिएन । त्यसले गर्दा गनर्भर नियुक्तिका लागि अर्थमन्त्रीको संयोजकत्वमा ३ सदस्य सिफारिस समिति बन्न सकेको थिएन । अर्थमन्त्रीको संयोजकत्वमा रहेको सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्ने र त्यहाँबाट एक जनालाई गभर्नर बनाउने व्यवस्था ऐनमा छ । सो ऐनमा सिफारिसमा पर्ने तीन जना मध्ये एक जना डेपुटी गभर्नर हुनैपर्ने व्यवस्था छ ।