काठमाडौं । चालु आर्थिक वर्षभित्र बिजुली उत्पादनको काम अन्तिम चरणमा पुर्याएका दुई दर्जन आयोजना कोरोना भाइरसका कारणपछि धकेलिएका छन ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले दोस्रो पटक चैत २५ गतेसम्म लकडाउन घोषणा गरेको छ । लकडाउनका कारण मुलुक अहिले ठप्प छ । लकडाउन अझै बढ्ने संभावना छ । लकडाउनले आर्थिक गतिविधि र पूर्वाधार निर्माणका सबै काम रोकिएका छन ।
लकडाउन कति समय लम्बिने हो अनिश्चित भएकाले लक्ष्यमा रहेका आयोजना आउने संभावना कम देखिएको नेपाल विद्युत प्राधिकरणका प्रवत्ता प्रवल अधिकारी बताउँछन ।
चैतसम्म मात्र लकडाउन भएर कोरोना भाइरसको प्रभाव कम भयो भने लक्ष्यमा रहेका केही आयोजना आउने संभावना अझै रहेको उनको भनाई छ । यद्यपी कोरोनाको संक्रमण लम्बिने संभावना देखिएकाले नयाँ आयोजना थपिने संभावना कम रहेको अधिकारीले जानकारी दिए ।
आगामी असारसम्म ४२ मेगावाटको मिस्त्रीखोला, २५ मेगावाटको माथिल्लो दोर्दीखोला, २० मेगावाटको तल्लोमोदी, २५ मेगावाटको सिङटीखोला, ११.८ मेगावाटको नमार्जुन मादी, ३० मेगावाटको न्यादी, १४.८ मेगावाटको माथिल्लो सान्जेन र २७ मेगावाटको दोर्दीखोलालगायत २२ आयोजना सम्पन्न हुने अवस्थामा पुगेका थिए ।
चालु आर्थिक वर्षमा सरकारले १ हजार मेगावाट बिजुली थप्ने लक्ष्य लिएको छ । निर्माणधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी, रसुवागढी, मिस्त्रीखोला, दोर्दीखोलालगायत ४ दर्जन आयोजना सम्पन्न हुने अनुमान सरकारको थियो ।
चालु आर्थिक वर्षमा सरकारले सार्वजनिक र निजी क्षेत्रबाट १ हजार मेगावाट बिजुली उत्पादन गरी जडित क्षमता २ हजार २०० मेगावाट पुर्याउने लक्ष्य तय गरेको थियो ।
माथिल्लो तामाकोसी र रसुवागढीलगायत प्रस्तावित धेरै आयोजना नआउने देखिएपछि विद्युत प्राधिकरण यो वर्ष दुई दर्जन आयोजना सम्पन्न भई ३८७ मेगावाट मात्र बिजुली थप हुने अनुमान गरेको थियो । कोरोना भाइरसले गर्दा यो लक्ष्य पनि पुरा नहुने अवस्था आएको छ ।
आयोजना निर्माण बन्द भएपछि लागत पनि बढ्ने देखिएको छ । लगानीकर्तालाई थप दायित्व पर्ने संभावना बढेको छ ।
वैशाखभित्र बिजुली बाल्ने तयारी अवस्थामा रहेको ४२ मेगावाटको मिस्त्रीखोला आयोजना पनि अनिश्चित भएको छ ।
वैशाखभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेकोमा कोरोनाका कारण अवरुद्ध भएपछि आयोजना अनिश्चित भएको निर्माण कम्पनी हाइहिमालयन हाइड्रोका प्रवन्ध निर्देशक तारानाथ सापकोटा बताउँछन । आउँदो असारसम्म आयोजना सम्पन्न हुने संभावना न्युन रहेको उनले जानकारी दिए
तामाकोसीमा आयोजनामा पेनस्टक पाइप जडानको जटिल काम भइरहेकाले तोकिएको समयमा आयोजना सम्पन्न हुने अवस्था छैन । असारसमा एउटा युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसाथ काम भइरहेको छ । आयोजनाको काम ९९ प्रतिशत सकिएको छ । रसुवागढीको ७५ प्रतिशत काम सकिएको छ । कोरना भाइरसका कारण रसुवागढीको काममा अवरुद्ध छ ।
कम्पनीअन्र्तगतका रसुवागढी, सान्जेन, भोटेकोशी लगायतका आयोजना सम्पन्न हुन पनि चालू आवमै कठिन छ ।
यस्तै ३० मेगावाटको न्यादी जलविद्युत आयोजना पनि अनिश्चित भएको छ । आयोजनाको काम सकिने बेला कोरानाको असरले बन्द भएको बुटबल पावर कम्पनी (बीपीसी) लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठ बताउँछन । उनले आयोजना अझै अनिश्चित भएको जानकारी दिए ।
चालू आवमै निर्माण सम्पन्न भइ विद्युत उत्पादन हुने भनिएका केही आयोजनामा चीनबाट फैँलिएको कोरोना भाइरस प्रभाव परेको प्राधिकरणको भनाई छ । चीनियाँ लगानी, ठेकेदार, प्राविधिक र निर्माण सामग्री प्रयोग भएका आयोजना अहिले ठप्प छन । आयोजना साइटमा काम बन्द भएको छ । दशैं, तिहारअघि नै बिदा मनाउन चीन गएका कामदार तथा प्राविधिक आयोजनामा फर्किएका छैनन । जसका कारणले आयोजना मुख्य काम नै अघि बढ्न सकेको छैन ।
चीनसँग जोडिएका उत्तरी नाका दुवै नाका अहिले बन्द छन । उता, चीनमा त्यस्ता मेसिन उत्पादक कम्पनी, उद्योग र कार्यालय अहिले बन्द छन । कोरोना भाइरस संकमणको सन्त्रास कहिलेसम्म रहने हो, त्यतिबेलासम्म जलविद्युतमा आयोजना त्यस्को असर देखिने गर्छ । यस्तै भारतसंगको सीमा नाका पनि बन्द भइसकेको छ । आउँदो दिनमा चीनिँया ठेकेदार र कामदार भएका आयोजनामा अझै अन्योलतमा थपिने देखिन्छ ।
टर्यो बिजुली निर्यातको सम्भावना
सरकारले माथिल्लो तामाकोसी र रसुवागढीबाट उत्पादन हुने बिजुली स्वदेशमा खपत भएर बचेको भारत निर्यात गर्ने लक्ष्य लिएको थियो । त्यसअनुसार, निर्यात गर्न ठूलो क्षमताको प्रसारण लाइन र वितरण प्रणाली चाहिन्छ । त्यसका लागि अहिले ढल्केबर मुजफ्फपुर ४०० केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा छ । सो लाइनबाट झन्डै १ हजार मेगावाट विद्युत नेपाल र भारतबीच आयात निर्यात हुन सक्नेछ ।
कोरोना भाइरस (कोभिड(१९) को प्रभावले निर्माण अवरुद्ध भएको भन्दै निर्माणधीन जलविद्युत आयोजनाहरुले धमाधम नेपाल विद्युत प्राधिकरणमा निवेदन दिएका छन । हालसम्म निर्माणधीन डेढ दर्जन आयोजनाहरुले कोरोनाका कारण काम अघि बढाउन नसकेको जानकारी विद्युत प्राधिकरणलाई गराएका हुन ।
ती आयोजनाहरुले विद्युत उत्पादन मिति (आरसीओडी) सार्नका लागि प्राधिकरणमा निवेदन दिएका हुन । दैवी प्रकोपले गर्दा काम अवरुद्ध भएको भन्दै निर्माणधीन आयोजनाबाट धमाधम निवेदन दिन थालेका थिए ।
१२३ मेगावाट थपियो
साउनयता सार्वजनिक र निजी लगानीका एक दर्जन बढी आयोजना सम्पन्न भई प्रणालीमा १२३ मेगावाट बिजुली थप भएको छ । विद्युत प्राधिकरणको लागानीमा १४ मेगावाटको कुलेखानी तेस्रो आयोजना सम्पन्न भएको छ ।
यस्तै निजी क्षेत्रबाट २५ मेगावाटको कावेली बी–१, २२ मेगावाटको तल्लो हेवाखोला, ९.९ मेगावाटको इवाखोला, ७ मेगावाटको अपर मार्दीखोला, ८ मेगावाटको माथिल्लो नौगाड, २३.५ मेगावाटको सोलुखोलालगायत एक दर्जन आयोजनाहरु छन ।
बिजुलीको माग घट्यो
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न लकडाउन घोषणा भएसँगै विद्युत्को माग (लोड) पनि ह्वातै घटेको छ ।
बढी विद्युत खपत गर्ने कलकारखाना, होटल, व्यापारिक भवन, कार्यालयहरु बन्द भएपछि विद्युतको माग ह्वातै घटेको हो । विद्युत लोडमा मुख्य रुपमा कलकारखाना, होटललगायतको योगदान रहेको छ । घरायसी प्रयोजनका लागि मात्रै विद्युत्को प्रयोग भइरहेकाले अहिले विद्युतको लोड घटेको हो । माग कम भएपछि प्राधिकरणले रातको समयमा आयोजना बन्द गरिरहेको छ ।
लकडाउन सुरु हुनुभन्दा पहिले मुलुकभरको विद्युत्को अधिकतम माग (पिक डिमाण्ड) १ हजार २०० मेगावाटको हाराहारीमा रहेकोमा ९४५ मेगावाटमा सीमित भएको छ ।
विद्युतको माग घटेसँगै भारतबाट आयात हुने विद्युतको परिणाम पनि घटेको छ । प्राधिकरणले भारतबाट ६० मेगावाट मात्र बिजुली आयात गरिरहेको छ । कुलेखानी पनि चलाइएको छैन ।