काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि अरुण तेस्रो जलविद्युत आयोजनाले १ करोड ५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
आयोजना निर्माण गरिरहेको संखुवासभाको जिल्ला अस्पताललाई अरुण तेस्रो आयोजनाले १०.५ मिलियन अर्थात १ करोड पाँच लाख रुपैयाँ बराबरको अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
आयोजना निर्माण गरिरहेको भारतीय प्रर्वद्धक कम्पनी एसजेभीएन अरुण–३ पावर डेलभमेन्ट कम्पनीले मुख्य गरी आईसियुका लागि दुई थान उन्नत भेन्टिलेटर, एक थान प्यासेन्ट मोनिटर, ५ थान अक्सिजन कन्सेन्टेटरस, दुई थान लरीङगोस्कोप सेट, ७ थान फाउलर वेड, २ थान पल्स अक्सिमिटर, तीन थान सक्सन मेशिन तथा १५ थान पर्सनल प्रोटेक्टिभ इक्वेपमेन्ट (पीपीई) सेट लगायतका सामग्री सहयोग गरेको छ ।
कम्पनीका अध्यक्ष नन्दलाल शर्माको पहलमा कोरोना महामारीको रोकथामका लागि स्वास्थ्य सामग्रीहरु जिल्ला अस्पताललाई मंगलबार हस्तान्तरण गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरुण धिमानले जानकारी दिए ।
सबै सामग्रीहरु संखुवाभासमा ल्याएर प्रमुख जिल्ला अधिकारीको उपस्थितीमा सीईओ धिमानले जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यलाई हस्तान्तरण गरेका थिए ।
आयोजनाका कर्मचारीहरुले कोरोनाको महामारीको रोकथानका लागि उनीहरुको तलबबाट अस्पताललाई ५ लाख रुपैयाँ दिइएको कम्पनीले जनाएको छ ।