काठमाडौं । सरकारले राती सञ्चालन हुने उद्योगलाई ५० प्रतिशतसम्म बिजुली महशुलमा छुट दिने भएको छ । रातीको समयमा बिजुली खेर जान नदिन सरकारले उद्योगलाई सहुलियत दिएर आकर्षित गर्न लागेको हो ।
राती सञ्चालन हुने उद्योगलाई न्युनतम ३० देखि ५० प्रतिशतसम्म छुट दिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । अर्थमन्त्री खतिवडाले भने ‘अफ टाइममा सञ्चालन हुने उद्योगलाई महशुल छुट दिने हो ।’
उद्योग व्यवसाय दिउँसो मात्र सञ्चालन हुँदा रातीको बिजुली खेर जाने गरेको छ । राती १० देखि बिहान ४ बजेसम्म बिजुली खपत धेरै कम छ । तर, नेपाल विद्युत प्राधिकरणले निजी उत्पादकलाई भने बिजुलीको बिल भुक्तानी गर्दै आएको छ । रातीको समयमा उद्योग चलाउँदा बिजुली महशुल सस्तो हुन गई उत्पादन लागत पनि कम हुन्छ ।
आगामी वर्ष ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको र रसुवागढी र ५७ मेगावाटको सान्जेनलगायत साना ठुलो आयोजनाबाट बिजुली उत्पादन सुरु भएपछि वर्षादमा बढी हुने अनुमान विद्युत प्राधिकरणको छ ।
रातीको समयमा उत्पादन हुने बिजुली उपयोग गर्नका लागि सरकारले यस्तो रणनीति तय गर्न लागेको हो । यद्यपी, कारोनाले गर्दा यो आर्थिक वर्षमा आउने तयारीमा रहेका सबै आयोजनाहरु पछि धकेलिएका छन ।
सरकारले पछिल्लो समयमा बिजुली खपतमा जोड दिंदै आएको छ । कोरोना भाइरस संक्रमणका कारण मुलुक लकडाउनमा गएपछि उद्योग व्यवसाय बन्द हुँदा बिजुली खपत आधा घटेको छ । अहिले घरायसी प्रयोजनका लागि मात्र बिजुली खपत भइरहेको छ । भारतबाट ६० मेगावाट मात्र बिजुली आयात भइरहेको छ ।
ग्याँस आयातित इन्धन भएको र सरकारले एक सिलिण्डरमा २९० रुपैयाँसम्म अनुदान दिदै आएको अर्थमन्त्री खतिवडाले बताउछन । ग्याँसमा सरकारलाई घाटा हुने गरेको छ । यता बिजुली खेर जाने अवस्था आएकाले इन्डक्सन चुलोलाई सरकारले प्रोत्साहित गरेको छ ।
‘उपभोक्तलाई १५० यूनिटसम्म विद्युत् खपत गर्दा २५ प्रतिशत सहुलियत दिइएको छ । त्यसबाट खेर जाने विद्युत्को प्रयोग बढ्यो’ उनले रासससंग भने ‘अर्को अनुदान दिन परेन, एलपीजीमा मारामार लाइन लाग्नुपर्ने अवस्था पनि भएन ।’
सरकारले इन्डक्सन चुल्होमा भन्सार छुट दिएको उनले जानकारी दिए । सबैलाई विद्युतीय चुलोको मात्र प्रयोग गर्न उनले अनुरोध गरे ।