काठमाडौं । नेपाल राष्ट्र बैंक र बैंकर मिलेर उद्योगीलाई नराम्ररी बेबकुफ बनाएका छन् । केन्द्रीय बैङ्कले चैत १६ गते जारी गरेको निर्देशनले उद्योगीलाई नराम्ररी बेबकुफ बनाएको पाइएको छ ।
कोरोनाबाट प्रताडित उद्योगीहरुलाई राष्ट्र बैंकको निर्देशनबाट झन पीडा दिएको उद्योगीले बताएका छन् । ‘कोरोनाबाट थलिएका उद्योगीलाई राष्ट्र बैङ्कले केही राहत दियो भन्ने लागेको थियो,’ उद्योगी पशुपति मुरारकाले भने, ‘तर, उद्योगीलाई मार्ने गरी निर्देशन आएको रहेछ ।’ उनका अनुसार राष्ट्र बैंकले बैंकरको निर्देशनमा यस्तो निर्देशन जारी गरेको महशुस भएको छ ।
राष्ट्र बैङ्कले जारी गरेको निर्देशनको बुँदा नम्बर ५ २०७६ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थालाई बुझाउनुपर्ने मासिक, त्रैमासिक किस्ताको (क्रेडिट कार्डको समेत) भुक्तानी २०७७ असार मसान्तसम्ममा हुनुपर्ने व्यवस्था मिलाउनुपर्ने छ । सो किस्ताको हकमा कुनै किसिमका हर्जाना लाग्ने छैन भन्ने उल्लेख छ ।
यो निर्देशन पढेको उद्योगीलाई के लागेको थियो भने चैत मसान्तमा बुझाउनुपर्ने ब्याज असारसम्म बुझाए हुन्छ । यदि चैत मसान्तमै बुझाएको अवस्थामा १० प्रतिशत छुट पाइन्छ भन्ने उद्योगीले बुझेका थिए । तर, यसमा राष्ट्र बैंक र बैंकर मिलेर उद्योगीलाई नराम्ररी झुक्याएको भन्ने कुरा निर्देशन आएको तीन दिनपछि मात्रै उनीहरुले थाहा पाए । यो नियम गाडी र घर किन्न ऋण लिएकालाई मासिक किस्ता (ईएमआई) तिर्न मात्र लागु भएको देखिएको छ । उद्योग खोल्न वा सञ्चालनका लागि लिएको ऋणको ब्याज भने चैतभित्रै तिर्नुपर्ने भएको छ ।
‘राष्ट्र बैङ्कले मासिक किस्ताको हकमा मात्रै सो सुविधा दिएको हो । जो जसले चैत महिनाको मात्र बुझाउनुपर्ने मासिक÷त्रैमासिक किस्ता छ, त्यो किस्तालाई मात्रै असारमसान्तसम्म पुर्याउन सुविधा दिएको हो,’ राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले भने, ‘अन्य ब्याजमा यस्तो सुविधा दिएको छैन् ।’
जबकी राष्ट्र बैङ्कका कामु गभर्नर चिन्तामणि सिवाकोटीले निर्देशन आएकै दिन क्यापिटल नेपालसँग कुरा गर्दै भनेका थिए, ‘बुँदा नम्बर ५ मा सबै खाले ब्याज भन्ने छुटेको रहेछ । त्यसलाई सच्याउँछौं भनेको थिए । तर, आज उनी मातहकै कार्यकारी निर्देशकले मासिक र त्रैमासिक किस्ताको हकमा मात्रै यो नियम लागू हुने बताए ।
मासिक वा त्रैमासिक किस्ताको ब्याज चैत मसान्तमा बुझाउनेलाई मात्रै १० प्रतिशत छुट दिएको पनि ढकालले प्रस्ट पारे । ‘अन्य ब्याजमा १० प्रतिशत छुट होइन्,’ उनले क्यापिटल नेपालसँग भने, ‘मासिक वा त्रैमासिक किस्ताको ब्याज भर्नेले यो छुट सुविधा पाउँछन् ।’
राष्ट्र बैंकले उद्योगीलाई राहत भन्दा पनि मर्माहत बनाउने गरी निदेशन ल्याएको बताएका छन् । कोरोनाका कारण देशको पर्यटन, उत्पादनलगायतका सबै उद्योग ठप्प छन् । उद्योगीले दैनिक करोडौ रुपैयाँ नोक्सान खेपिरहेका छन् । त्यसमाथि राष्ट्र बैंकको निर्देशनले झन मर्माहत बनाएको मुरारका बताउँछन् ।