काठमाडौं । अर्थ मन्त्रालयले अत्यावश्यक काम बाहेक अन्य शिर्षकमा बजेट खर्च रोक्न मन्त्रालयहरुलाई पत्राचार गरेको छ ।कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्रोत परिचालन गर्नुपर्ने भएपछि अर्थले सबै सरकारी कार्यालयहरूलाई अत्यावश्यक बाहेकका क्षेत्रमा बजेट खर्च गर्न रोक लगाएको हो ।
अर्थले विभिन्न १४ शीर्षकका बजेट खर्च रोक्न निर्देशन दिएको अर्थसचिव शीशिरकुमार ढुंगानाले बताए। उनले गत बुधबारको निर्णयअनुसार खर्च रोकिएको जानकारी दिए । अर्थले मन्त्रालयहरुमा परिपत्र पठाइसकेको छ ।
ढुंगानाले हस्ताक्षर गरेको परिपत्रमा चालु आर्थिक वर्षको बजेटमा समावेश गरिएका धेरै कार्यक्रमलाई स्थगित गर्न भनिएको छ । सो बजेट कोरोना भाइरस, रोकथाम, नियन्त्रण लगायतका प्राथमिकता प्राप्त अन्य क्षेत्रमा समेत खर्च गरिने उल्लेख छ ।
कोरोनाबाट अर्थतन्त्रमा पर्ने क्षति कम गर्न सरकारले ३ दातृनिकायबाट साढे २२ अर्ब परिचालन गर्ने, वार्ता गर्न अर्थलाई स्वीकृति
कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि थप बजेट आवश्यक परेको परिपत्रमा उल्लेख छ । यस्तै कोरोना भाइरसका कारण मुलुक लकडाउनमा गएपछि राजश्व संकलन समेत बन्द भएकाले चालु आर्थिक वर्षका लागि विनियोजन गरिएका कतिपय कार्यक्रमहरु स्थगित गरी कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा खर्च गर्नुपरेको उनले जानकारी दिए ।
कोरोनाले आर्थिक वृद्धि २ प्रतिशतसम्म घट्ने अर्थमन्त्री खतिवडाको प्रक्षेपण
कोरोना भाइरस विरुद्ध लड्नका लागि प्राथमिकता प्राप्त क्षेत्रको बजेट पनि कटौती गर्नुपर्ने अवस्था आएको परिपत्रमा उल्लेख छ । चैत २० गतेसम्म दायित्व सिर्जना भइसकेको र बोलपत्र आह्वान भइसकेको काममा भने बजेट रोक्का नहुने उनले जानकारी दिए ।
ढुंगानाका अनुसार सवारी साधन खर्च, मेसिनरी तथा औजार, फर्निचर तथा फिक्चर्स, कम्प्युटर सफ्टवेयर निर्माण तथा खरिद खर्च एवं अन्य बौद्धिक सम्पत्ती प्राप्ति खर्च, पुँजीगत अनुसन्धान तथा परामर्श, जग्गा प्राप्ती खर्च र भैपरी आउने पुँजीगत खर्च नगर्न भनिएको छ ।
सेवा तथा परामर्श खर्च, कर्मचारी तालिम खर्च, कार्यक्रम खर्च, सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठीसम्बन्धी खर्च, विविध कार्यक्रम खर्च, अत्यावश्यकबाहेक अनुगमन तथा मूल्यांकन खर्च र भैपरी आउने चालु खर्च समेत रोक्का राख्न अर्थमले भनेको छ ।कोरोना भाइरस विरुद्ध लड्न सरकोले आन्तरिक तथा दातृनिकायहरुबाट सहयोग लिन लागेको छ ।