काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले बेलायत, जर्मनी र क्यानडामा चार्टर्ड उडान गर्ने भएको छ ।
विपद्को उडान सारथी बनिरहेको निगमको वाइडबडी जहाजले यसै साता ती गन्तव्यको उडान भर्ने तयारी गरेको हो । निगमका अपरेसन विभाग प्रमुख दिपु जहार्चनले लण्डन, फ्राङ्फर्ट र क्यानडा उडानको प्रारम्भिक तयारी भइरहेको जानकारी दिए ।
‘युरोपका मुख्य गन्तव्यमा चार्टर्ड उडानको प्रारम्भिक तयारीमा जुटेका छौं, अबको सातदेखि १० दिनभित्र निगमको वाइडबडी जहाज बेलायत, जर्मनी र क्यानडा पुग्छन’, उनले भने ।
निगमको यी गन्तव्यको उडान भने व्यवसायिक नभई चार्टर्ड उडान हो । सम्बन्धित मुलुकले निगमको ‘प्रावधान’ स्वीकारेमा १० दिनभित्र ती मुलुकमा उडान भरिने प्रमुख जुहार्चनको भनाइ छ।
यी तीनवटै गन्तव्यमा निगमको वाइडबडी जहाजले सिधा उडान गर्नेछन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि लण्डन गन्तव्यमा करिब साढे १२ घण्टाको उडान भर्नुपर्ने हुन्छ।
वाइडबडीले लण्डनबाट क्यानडा र जर्मनीको उडान भर्नेछ । निगमले सुरूमा बोइङ ७६७ जहाजमार्फत लण्डन, पेरिस र फ्राङ्फर्ट उडान गरेको थियो।
जहाज अभावलगायत कारण देखाउँदै बीचमै सेवा रोकिएको थियो। निगमले १९८८ मा युरोपका गन्तव्यमा उडान भरेको थियो। युरोपका ती गन्तव्यमा दुबई भएर उडान गरिन्थ्यो ।
यसअघि निगमले आफ्नो उड्डयन इतिहासमै पहिलो पटक लामो गन्तव्यको अस्ट्रेलियाको सहर ब्रिस्बनमा चार्टर्ड उडान गरिसकेको छ । निगमको वाइडबडी जहाजले चैत १९ मलेसियाको क्वालालम्पुर हुँदै ब्रिस्बनसम्मको करिब १३ घण्टाको उडान यात्रा गरेको थियो।
अहिले कोभिड–१९ को विश्वव्यापी महामारी फैलिरहेको छ । नेपालमा पनि कोभिडको संक्रमण फेला परेपछि सरकारले चैत ११ देखि २५ सम्म देशभर लकडाउन गरेको छ । वैशाख ३ गतेसम्म सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गरिएको छ ।
यस्तो परिस्थितिमा निगमले औषधीजन्य सामग्री ढुवानीका लागि कार्गो उडान तथा विदेशी नागरिकलाई उनीहरूको मुलुकसम्म लैजानका लागि चार्टर्ड उडान गरिरहेको छ।
निगमले एकसाता दिनभित्रै श्रीलंकाको कोलम्बो उडान भर्ने तयारी गरेको छ । अबको १० दिनभित्र युरोपमका महत्वपूर्ण गन्तव्यमा चार्टर्ड उडान गर्ने भएको हो ।
त्यस्तै चीनको ग्वाङ्जाओलगायत गन्तव्यमा पनि उडान भर्ने योजना बनाइएको निगमले जानकारी दिएको छ । यसअघि निगमको वाइडबडी जहाजले चैत १६ गते र शुक्रबार बिहान दुई चार्टर्ड उडानमार्फत चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री ल्याएर फर्किएको थियो।
हाल दुई वाईडबडी ए–३३० र दुई थान न्यारोबडी ए—३२० सिरिजको जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।