काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएपछि आगामी आर्थिक वर्ष ०७७/०७८ (सन २०२१) मा सकिने राष्ट्रिय गौरवका ३ ओटा ठुला आयोजनाहरु अनिश्चित भएका छन ।
४५६ मेगावाटको माथिल्लो तामाकोसी, मेलम्ची खानेपानी र गौतमवुद्ध क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल आगामी वर्ष सक्ने लक्ष्य राखिएको छ । यी ३ ओटै आयोजनाको काम अन्तिम चरणमा पुगेका छन ।
आयोजनाको काम अन्तिम चरणमा पुगे पनि कोरोना महामारीले प्रभावित बनाउने देखिएको छ । महामारी जति लम्बिने छ, त्यत्ति नै आयोजनाको काम पनि पछि धकेलिने संभावना बढेको छ ।कोरोनाको संक्रमण चाँडै सकिएर आर्थिक गतिविधि बढेमा यी आयोजना आगामी वर्ष नै सम्पन्न हुने छन ।
माथिल्लो तामाकोसीको काम ९९ प्रतिशत सकिएको छ । बाँधको परीक्षण पनि सकिएको छ । बाँधमा पानी भरिएको छ । ठाडो पेनस्टक पाइप राख्ने जटिल काम भइरहेको आयोजनाले जनाएको छ । आयोजनाको काम सुचारु रहेको छ ।
आगामी असारसम्म पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य छ । अहिलेको अवस्थामा निर्धारित समयमा तामाकोसीबाट बिजुली उत्पादन हुने संभावना कम रहेको छ ।
यस्तै मेलम्चीको पनि काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको ९७ प्रतिशत काम सकिएको छ । सुरुङ्गमा पानी परीक्षण सकिएको छ । अहिले बाँधमा काम भइरहेको छ । यस्तै गौतमवुद्ध विमानस्थलको काम पनि कोरानाले अवरुद्ध भएको छ । आगामी आर्थिक वर्षको पुससम्म सक्ने लक्ष्य लिए पनि पुरा हुने संभावना कम छ ।
गौतमवद्ध र मेलम्चीमा एसियाली विकास बैंक (एडीबी) को ऋण लगानी छ । तामाकोसी स्वदेशी पुँजीबाट निर्माण सुरु गरिएको हो । ३ ओटा राष्ट्रिय गौरवका आयोजना सम्पन्न भएपछि यसले आर्थिक गतिविधि बढाइ कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) मा थप योगदान गर्ने एडीबीको भनाई छ ।
सरकारले राष्ट्रिय गौरवमा २० ओटा ठुला आयोजना राखेको छ । यसमध्ये १२०० मेगावाटको बुढीगण्डकी जलासय, ७५० मेगावाटको पश्चिम सेती जलविद्युत रानीजमरा कुलरिया, सिक्टा, बबई सिंचाइ आयोजनाको काम रोकिएको छ ।
यस्तै मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, उत्तरदक्षिण जोड्ने ४ ओटा लोकमार्ग, दोस्रो अन्तर्राष्ट्रिय, पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि कोरोनाले अवरुद्ध भएको छ ।
आगामी आर्थिक वर्ष कोभिड–१९ को महामारी निरन्तर नै रहेमा त्यसले ठुला आयोजनालाई प्रभावित पार्ने, आयोजनाको समय लम्बिने र लागत थप बढाउने छ । यसले अर्थतन्त्रलाई निकै नकारात्मक असर पार्न सक्ने सम्भावना रहेको छ । सुरु हुने अवस्थामा रहेका आयोजनाहरु पनि पछि धकेलिने संभावना बढेको छ ।