काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म मुलुकभर १ हजार २०० जनामा कोरोना परीक्षण गरियो । त्यसमध्ये ९ जनालाई कोरोना संक्रमण भएको पाइएको छ ।
यो परीक्षण दर एकदमै कम हो । त्यसमा पनि एक जना उपचार पछि घर गइसकेका छन ।सरकारले लकडाउन गरेको आज १३ औं दिन पुगेको छ । लकडाउनपछि दिनमा १०० जनामा पनि कोरोना परीक्षण नभएको पाइएको छ ।
सरकारले परीक्षणलाई तीब्र बनाउने बताए पनि स्वास्थ्य परीक्षण गर्ने किट वा अन्य स्वास्थ्य सामग्रीको अभाव भएपछि त्यो सम्भव भएको छैन् । एकातिर राज्यकोषमा खर्बौ रुपैयाँ थन्किएर बसेको छ । अर्कोतिर स्वास्थ्य सामग्री अभाव भएर कोरोनाको परीक्षण हुन सकेको छैन ।
पारदर्शीतामा शंका गर्दै कोरोना उपचार कोषमा निजी क्षेत्रले देखाएन उत्साह, १ अर्ब ८२ करोड मात्र जम्मा
गाउँ गाउँका स्वास्थ्यकर्मीले मेडिकल सामग्री नपाएपछि जस्तोसुकै विरामी आए पनि छुन समेत डराइरहेका छन् । नडराउनु पनि किन ? उनीहरुले प्रयोग गर्ने स्वास्थ्य सामग्री नै छैन ।
गाउँ गाउँमा स्वास्थ्यकर्मीको अवस्था अवस्था दयनीय भइरहँदा केन्द्रीय सरकार स्वास्थ्य सामग्री किन्न भन्दा पनि कोरोना नियन्त्रण रोकथाम राहत कोषमा कुन व्यापारीले कति पैसा जम्मा गरेर भनेर हिसाव गरेर बसेको छ ।
अहिले व्यापारीले राहत कोषमा पैसा जम्मा गर्नुभन्दा पनि स्वास्थ्यकर्मीले प्रयोग गर्ने मेडिकल सामग्री किनेर बाँडिरहेका छन् । प्रतिष्ठित व्यापारिक घरानाहरुले पीपीई, कोरोना परीक्षण गर्ने किट, एन ९५ मास्क र भेन्टिलेटरलगायतका सामग्री किनेर गाउँ गाउँका अस्पतालमा पुर्याइरहेका छन् ।
राज्य कोषमा जम्मा गर्ने पैसाले निजी क्षेत्रले धमाधम त्यस्ता सामग्री किनेर केन्द्र, प्रदेश, स्थानीय तह हुँदै गाउँ गाउँका अस्पताल र स्वास्थ्यकर्मीलाई उक्त सामग्री बुझाइरहेका छन् ।
‘अहिलेको आवश्यकता भनेकै नगद भन्दा पनि स्वास्थ्य सामग्री हो,’ एनई ग्रुपका प्रवन्ध निर्देशक रवीभक्त श्रेष्ठले भने, ‘पैसा त सरकारी ढुकुटीमै खर्च नभएर बसेको छ । पैसा जम्मा गर्दैमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने सामग्री कसरी पाउँछन् ? अहिलेको मुख्य प्राथमिकता भनेको स्वास्थ्य सामग्री हो । हामीले अहिले धमाधम त्यस्ता सामग्री किनेर देशभरका अस्पताललाई दिइरहेको छौं ।’
अहिले उद्योगीले राहत कोषमा पैसा जम्मा गर्नुभन्दा पनि विदेशबाट स्वास्थ्य सामग्री मगाएर विभिन्न स्थानीय तहका प्रमुख, प्रदेश प्रमुख वा केन्द्रीय तहका अस्पताललाई बाँडिरहेका छन् ।
‘सरकार आफैले भनिरहेको छ– कोरोना परीक्षण गर्ने किट अभाव भएकाले जुन गतिमा कोरोनाको परीक्षण हुनुपर्ने हो, त्यो गतिमा हुन सकेको छैन्,’ श्रेष्ठले भने, ‘अहिले जतिसक्दो स्वास्थ्य सामग्री नै दिनुपर्ने देखियो । त्यही भएर सम्पूर्ण निजी क्षेत्रले स्वास्थ्य सामग्री दिन जुटेका छन् ।’
एनई ग्रुपले एक हजार थान भन्दा बढी पीपीई, २ हजार थान भन्दा बढी एन ९५ मास्क वितरण गरिसकेको छ । एनईले ललितपुरको बीएन्डबी, काठमाडौको महाराजगन्जस्थित टिचिङ अस्पताललगायतलाई ठूलो परिमाणमा स्वास्थ्य सामग्री दिइसकेको छ ।
त्यसैगरी, चौधरी ग्रुपले पनि पूर्वको विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमका विभिन्न अस्पताललाई हजारौंको स्वास्थ्य सामग्री वितरण गरिसकेको छ । त्यसैगरी, चौधरीले ग्रुपले पाल्पा, स्याङ्जालगायतका जिल्लामा पनि ठूलो परिमाणमा त्यस्ता सामग्री वितरण गरेको महाप्रवन्धक मधुसुदन पौडेलले जानकारी दिए ।
‘स्वास्थ्य सामग्री वितरण गर्ने काम अहिले पनि चलिरहेको छ । पीपीई र अन्य स्वास्थ्य सामग्री नभएर विरामीलाई नजाच्ने वा फर्काउने काम नहोस् भनेर हामीले अहोरात्र खटिरहेका छौं’ उनले भने, ‘अहिले पनि धेरै जिल्लाबाट स्वास्थ्य सामग्रीको माग भइरहेको छ । हामीले पठाइरहेका पनि छौं ।’
आईएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले पनि नेपाल प्रहरी, टेकु अस्पताललगायतलाई निरन्तर रुपमा स्वास्थ्य सामग्री उपलब्ध गराइरहेका छन् । उनी आफैले मास्क बनाएर लागत मूल्यमै मास्क पनि बेचिरहेका छन् । त्यसैगरी ठूलो परिमाणमा स्वास्थ्य सामग्री चीनबाट पनि झिकाएका छन् । ती सामाग्री नेपाल आइपुग्ने बित्तिकै विभिन्न अस्पताललाई दिने बताए ।
‘देश अप्ठयारोमा परेका बेला सबैले सहयोग गर्नुपर्छ,’ उनले भने, ‘संकटको घडीमा जसले जे सहयोग गर्न सक्छ, त्यही गर्नुपर्छ । अहिले व्यवसायीले विदेशबाट सामान झिकाएर अस्पतालहरुलाई दिइरहेका छन् । त्यो पनि राज्य कोषमा पैसा जम्मा गरे सरह भयो ।’
त्यसैगरी मुरारका अर्गनाइजेसनले पनि ठूलो परिमाणमा स्वास्थ्य सामग्री नेपाल झिकाएको छ । अहिलेको अवस्थामा पैसा भन्दा पनि स्वास्थ्य सामग्री बढी उपयोगी हुने निश्कर्ष सहित अर्गनाइजेसनले एक हजार थान भन्दा बढी पीपीई र अन्य सामग्री मगाएको छ । त्यो नेपालका अस्पताललाई निःशुल्क दिने ग्रुपले जनाएको छ ।
नर्भिक अस्पतालले आज सोमबार सरकारलाई १००० सेट पीईई हस्तान्तरण गरेको छ । ‘सामाग्री हस्तान्तरणपछि गरेपछि एक पत्रकार मित्रले प्रति सेट कति पर्छ ? भनेर सोधे । म अलमलमा परें’ नर्भिका प्रवन्ध निर्देशक वसन्त चौधरीले भने ‘खरिद मूल्य ३ हजार ३०० भनौं कि, भाडा मात्रै १ हजार ३२० पनि जोडेर ४ हजार ६२०, या बजारमा १५ हजार रुपैयाँमा बिक्री भैरहेको मूल्य भनौं ।’
त्यसैगरी, ज्योति, शंकर ग्रुप, गोल्छा अर्गनाइजेसन, एमएस ग्रुप, लक्की ग्रुप, सारडा ग्रुप, सौरभ समूह, आरएमसी ग्रुप, लोमस ग्रुपलगायतले ठूलो परिमाणमा स्वास्थ्य सामग्री वितरण गर्ने तयारीमा छन् ।