काठमाडाैं । बारबारा फाउण्डेसनले चैत १४ गते आयोजना गरेको भिडिओ कन्फरेन्समा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष अर्थशास्त्री डा. स्वर्णीम वाग्लेले कोरोना भाइसरबाट सबैभन्दा बढी पर्यटन क्षेत्रमा असर पुगेको र त्यसलाई लयमा फर्काउन सरकारले ठूलो छाती बनाएर राहत दिनुपर्ने बताएका थिए ।
अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएको पर्यटन क्षेत्र नराम्री प्रभावित भएकाले त्यसलाई पुनरजीवित गर्न सरकारले विशेष प्याकेज ल्याउन सो कार्यक्रममार्फत सुझाएका हुन् ।
अर्थशास्त्री डा. विश्वास गौचन पनि वाग्लेको विचारमा सहमत छन् । कोरोनबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र परेको छ । खर्बौ रुपैयाँ लगानी भएको क्षेत्र अहिले त थलिएको छँदै छ, कोरोना नियन्त्रणमा आएको ६ देखि १ वर्षसम्म पर्यटन क्षेत्र लयमा फर्किने सम्भावना नभएकाले सरकारले उदार भएर राहत दिनुपर्ने उनको तर्क छ ।
तर, अर्थतन्त्रको बागडोर सम्हालेका अर्थमन्त्री डा. खतिवडाले आफ्ना निकटसँग महँगा र ठूला गाडी चढ्नेको कब्जामा अहिलको पर्यटन क्षेत्र छ । उनीहरुलाई राहतको के आवश्यकता पर्छ ? उनीहरुलाई केही राहत दिनु पर्दैन् भन्ने गरेका छन् ।
देशको अर्थतन्त्रमा एक खर्ब भन्दा बढी पर्यटन क्षेत्रले योगदान गरिरहेको छ । होटल एसोसिएसन अफ नेपालका अध्यक्ष सिर्जना राणाले अर्थतन्त्रमा पर्यटन क्षेत्रले ३ दशमलव १४ प्रतिशत योगदान पुर्याउँदै आएको छ । यो भनेको एक खर्ब ६ अर्ब भन्दा बढी हो । ‘यति ठूलो योगदान गर्ने क्षेत्रलाई अर्थमन्त्रीले कुनै राहत दिनुपर्ने देख्नु भएको छैन्,’ हानका एक सदस्यले भने, ‘अर्थमन्त्रीको सोचाई कति सानो छ भन्ने प्रश्ट हुन्छ ।’
पर्यटन क्षेत्रमा लागेकादेखि अर्थविद्हरुलेसम्म यो क्षेत्रलाई उकास्न सरकारले विशेष किसिमको प्याकेज ल्याउनुपर्ने बताइरहेका बेला अर्थमन्त्री खतिवडाले आफ्ना निकस्टसँग गैरजिम्मेवार कुरा गर्दै हिडिरहेका छन् ।
सबैभन्दा संवेदनशील क्षेत्रको रुपमा पर्छ– पर्यटन । संसारभर सबैभन्दा बढी पर्यटन क्षेत्रनै प्रभावित भएको छ । विश्वका विभिन्न मुलुकले पर्यटन क्षेत्रलाई उकास्न खर्बौ डलरको राहत प्याकेज ल्याइसकेका छन् । तर, नेपालका अर्थमन्त्री गाडी कस्तो चढेको छ भन्ने आधारमा राहत दिने वा नदिने भन्दै हिडिरहेको पर्यटन व्यवसायीहरु बताउँछन् ।
‘खर्बौ रुपैयाँ लगानी गरेर सुविधासम्पन्न होटल खोजिएको छ । तर, ती होटलका रुम अहिले खाली छन् । होटल सुनसान भएका छन् । सञ्चालन खर्च उठाउन कम्तिमा ६० प्रतिशत अकुपेन्सी अनिवार्य हुने हानले बताएको छ । तर, मुलुक लकडाउनमा गए पछि सम्पूर्ण होटल बन्द छन्, यस्तो अवस्थमा देशको अर्थमन्त्री तथा अर्थतन्त्रका ज्ञाताले होटल व्यवसायीलाई राहत दिनु पदैन भन्ने अभिव्यक्ति दिइरहनु भएको छ,’ ती व्यवसायीले भने ।