काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रविधि (आईटी) सल्लाहकार अस्गल अलीको कम्पनी एफवान सफ्टबाट सेवा लिइरहेका बैङ्क तथा वित्तीय संस्थाले सम्बन्ध तोड्ने विषयमा छलफल थालेका छन।
अलीको कम्पनी आफैले बनाएको साइटबाट समाचार हटाएपछि त्रसित बनेका बैङ्करहरुले पनि सम्बन्ध तोड्ने विषयमा बैङ्कर्स एसोसिएसनमा समेत छलफल गरेका छन् ।
छलफलमा केहि बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले लकडाउन खुलेपछि एफवान सफ्टसँग सम्बन्ध तोड्नुपर्ने राय राखेका छन् ।
नेपालका अधिंकाश वाणिज्य बैङ्क, विकास बैङ्क र वित्तीय संस्थाको एप एफवान सफ्टले बनाएको हो । कतिपय बैङ्कको डेटा होस्टिङ समेत एफवान सफ्टले गरिरहेकाले लकडाउन खुला हुने बित्तिकै सम्बन्ध तोड्ने तयारी भएको स्रोतको भनाई छ ।
‘आफूलाई चित्त नबुझेको बेला एफवान सफ्टले जे पनि गर्न सक्ने रहेछ । अहिले सम्पूर्ण बैङ्कहरु एफवान सफ्टबाट त्रसित बनेका छन्,’ एक बैङ्कका प्रमुख कार्यकारी अधिकृतले क्यापिटलसँग भने, ‘बैङ्कर्स संघको बैठकमा सम्बन्ध तोड्ने विषयमा घनिभूत रुपमा छलफल भएको हो । कतिपय प्रमुख कार्यकारी अधिकृतहरुले एफवान सफ्टबाट सेवा लिन नहुने समेत राय राखेका थिए ।’
एफवान सफ्टको कब्जामा पेमेन्ट गेटवे, डेटा होस्टिङ छ । त्यति मात्रै होइन, कार्डबाट भुक्तानी गर्दा समेत उनीहरुकै गेटवे प्रयोग हुन्छ । यस्तो सम्वेदनशील विषयमा एउटा डेभलपरले जे मन लाग्यो त्यही गर्न थाल्यो भने बैङ्कप्रतिको ग्राहकको विश्वास गुम्ने प्रति अहिले सीईओहरु सजग भएका छन् ।
‘अहिले एफवान सफ्टको हातमा बैङ्कको सम्पूर्ण सिष्टम छ । हामीले अस्गल अली तथा उनको टीमसँग यस विषयमा धेरै पहिलेदेखि जानकारी राख्दै आएका हौ । हाम्रो कन्र्सन पनि यसैमा हो । तर, अस्गल र उनको टीमलाई चित्त नबुझेको बेला जे पनि गर्न सक्ने देखियो,’ अर्का एक बाणिज्य बैङ्कका सीईओले भने, ‘हाम्रो सिस्टमभित्र छिरेर जे पनि गर्न सक्ने अवस्था आयो । अहिले बैङ्करहरु डराएका छन् ।’