काठमाडौं । कोरोना भाइरको विश्वव्यापी प्रभावले गर्दा अमेरिकी डलर महंगिएर नयाँ रेकर्ड कायम भएको छ । अमेरिकी डलर थप मजवुत भई बिहीबार १२२ रुपैयाँ ५० पैसा पुगेको छ ।
दुई साताअघि डलर महंगिएर १२२ रुपैयाँ ४३ पैसा पुगेको थियो । त्यसपछि घटेर १२० रुपैयाँको हारहारीमा थियो । कोरोना भाइरसको अधिक प्रभाव विश्व अर्थतन्त्रमा परेपछि डलर मजवुत हुँदै गएको हो । डलरको यो मूल्य हालसम्मकै उच्च हो ।
नेपाल राष्ट्र बैंकले १ डलर बराबर १२२.५० रुपैयाँ बिक्रीदर तोकेको छ । भारु कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा परेको हो । भारु कमजोर भएर ७६ भारु नजिक पुगेको छ । भारतीय रिजर्व बैंकले बिक्रीदर ७५.८४ भारु तोकेको छ ।
नेपाल र भारतबीच स्थिर विनिमयदर भएकाले भारु कमजोर हुनसाथ नेपाली रुपैयाँ पनि कमजोर हुन्छ । डलरसंग भारु कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा परेको हो ।
कोरोना भाइसरको संक्रमण बढ्दै गएपछि कच्चा तेलको माग कम भई मूल्य घटेको छ । यस्तै वस्तु विनियम बजार र सेयर बजारमा सुधार नआउँदा सुरक्षित लगानीको क्षेत्र डलर नै देखिएपछि यसको असर विश्व बजारमा परेको हो । सुनले लगानीकर्तालाई आकर्षित गर्न सकेको छैन ।
डलर महंगिदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाहमा वृद्धि हुन्छ । डलरमा पठाउने रेमिट्यान्स बढी हुने छ । यस्तै निर्यात व्यापारमा फाइदा हुन्छ । हाल मुलुक लकडाउनमा भएकाले निकासी बन्द छ । यस्तै विश्वव्यापी महामारीले रेमिट्यान्स आप्रवाह बन्द जस्तै छ ।
आयात गरिने वस्तु महंगो हुने भएकाले बजार भाउ बढ्न सक्ने छ । यद्यपी निकासीकर्तालाई यो बेला फाइदा हुन्छ । यस्तै विदेशी कच्चा पदार्थमा निर्भर उद्योगको लागतमा वृद्धि हुने छ ।
डलर बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ । विदेशी कम्पनीहरुले लाभांश फिर्ता लैजादा बढी दिनुपर्छ ।