काठमाडौं । सरकारी राजस्व लक्ष्य भेटाउन दैनिक ५ अर्ब ६४ करोड रुपैयाँ उठाउनुपर्ने देखिएको छ । चालू आर्थिक वर्षको ९ महिनामा सरकारले जम्मा ५ खर्ब ७४ अर्ब रुपैयाँ मात्रै राजस्व उठाएको सरकारमाथि अहिले स्रोत व्यवस्थापनको चर्को दबाब परेको हो ।
अर्थ मन्त्रालयले दिएको जानकारी अनुसार बुधबार मात्रै सरकारले २३ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जबकी, राजस्व लक्ष्य भेटाउन ५ अर्ब करोड रुपैयाँ राजस्व संकलन गर्नुपर्ने देखिन्छ ।
सरकारले बजेट अर्धबार्षिक समीक्षाबाट बजेट र राजस्वको लक्ष्य घटाएको थियो । त्यो राजस्व पनि नपुग्ने सम्भावना बढेर गएको पूर्व अर्थसचिव शान्तराज सुवेदी बताउँछन् ।
‘चालू आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब राजस्व संकलनको लक्ष्य लिएकोमा ९ महिनमा ५ खर्ब ७४ अर्ब अर्थात ५१ प्रतिशत मात्रै राजस्व उठेको छ,’ उनले भने, ‘यो हिसावले सरकारले दैनिक करिब करिब ६ अर्ब रुपैयाँ राजस्व उठाउनुपर्ने देखिन्छ । त्यो सम्भव नै छैन ।’
एकातिर सरकारले राजस्व लक्ष्य नभेटाउने र अर्कोतिर खर्च कटौती गर्नेतर्फ नजाने हो भने ९ खर्ब ४ अर्ब चालू खर्च धान्नै मुस्किल हुने पक्का पक्की छ ।
अझ कोरोना भाइरसले निम्त्याएको संकट कहिलेसम्म रहन्छ भन्ने एंकीन छैन । यो अवस्थामा सरकारसामू खर्च कटौतिको विकल्प नभएको पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनी बताउँछन् ।
‘अर्थ मन्त्रालयले स्रोत व्यवस्थापनमा चुनौतिपूर्ण भएकाले सवारीसाधन खरिददेखि मेसिनरी औजार लगायतका १४ शिर्षकको बजेट रोक्का गरिसकेको छ’ उनले भने, ‘तर, त्यो मात्रै पर्याप्त छैन । केन्द्र र प्रदेशका सांसदको तजविजमा खर्च हुने १९ अर्ब बजेट निर्वाचन क्षेत्र विकास कार्यक्रम रद्ध गर्न अहिले उपयुक्त समय हो ।’
त्यसबाहेक अन्य धेरै क्षेत्रमा हुने अनावश्यक खर्च पनि रोक्नुपर्ने अहिलेको आवश्यकता छ । राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री, सभामुख र केन्द्रदेखि प्रदेशका मन्त्रीले सचिवालय खडा गरेर ठूलो रकम आफ्नो खल्तीमा हालिरहेको छन्, त्यस्ता खर्च रोक्न सरकारले विशेष पहल गर्नुपर्ने पूर्वअर्थमन्त्री लोहनीको भनाइ छ ।