काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले लकडाउन सधैं सम्भव नरहेको भन्दै देश चल्ने उपायको खोजी गर्नुपर्ने बताएका छन् । कांग्रेसको छाया अर्थमन्त्रालयको संयोजनमा भएको कोरोनाको कहरपछि नीति कार्यक्रम र बजेट सम्बन्धमा उद्योग वाणिज्य लगायत सम्बन्धित क्षेत्रका छाता संस्थाहरुसँगको अन्तरक्रियामा सभापति देउवाले यस्तो बताएका हुन् । ‘कोरोनाको त्रास छ । डर, छ । यसबाट बच्ने उपायसँगै देश पनि चल्नुपर्छ । उद्योगधन्दा पनि खुल्नुपर्छ’ देउवाले भने, ‘तपाईंहरुले दिएको सुझाव अनुसार हामी संसदमा पनि कुरा उठाउँछौं ।’
लकडाउनसँगै उद्योग, पर्यटन, होटल क्षेत्र प्रभावित भएको, विदेशमा नेपालीले रोजगारी गुमाउँदा रेमिटेन्स कम हुने, भौतिक पूर्वाधारको काम ठप्प हुँदा रोजगारी गुम्ने, उद्योग बन्दा हुँदा श्रमिकको दैनिकी कठोर हुने भन्दै देउवाले अब विकल्पमा जानुपर्ने बताएका हुन् । ‘सबैले समस्या भोग्नुपरेपछि अब प्रधानमन्त्रीसँगै कुरा गरेर समस्या राख्नेमात्रै होइन प्रतिपक्षी दलका रुपमा कार्यान्वयन गराउन लाग्छु ’ देउवाले भने । संक्रमण रोक्न लकडाउन गर्नु ठीक उचित भए पनि निरन्तर उद्योगधन्दा बन्द गर्दा सबै क्षेत्र प्रभावित भएको उनको भनाई थियो ।
कार्यक्रममा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नीगित सुधार गरेर रोजगारी दिने, अर्थतन्त्रलाई टिकाउने दिशामा जान आवशयक रहेको बताए । उनले भने, ‘लकडाउनमा आर्थिक गतिविधि ठप्प छ । तर पनि लकडाउनको विकल्प छैन । यसकारण स्वास्थ्यमा महत्वपूर्ण बजेट विनियोजन हुनुपर्छ ।’
छाया सरकारमा अर्थ मन्त्रालयका संयोजक डा. मिनेन्द्र रिजालले उद्योगधन्दालाई नियमित गरेर जान व्यवसायीहरुले व्याजदरमा सहुलियत, प्रभावकारी नीति, छरितो र नछरिएको बजेट ल्याउनुपर्ने गरी आएका सुझाव राम्रा रहेको बताए ।
उद्योगीको एक स्वर : उद्योगीलाई सहुलियत देउ
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले कोरोनाका कारण गरिएको लकडाउनले सबै क्षेत्र प्रभावित भएको भन्दै प्रभावकारी नीति बनाउन सरकारसँग माग गरिन् । उद्योगलाई चलाएर अर्थतन्त्रलाई चलायमान बनाउन सहुलियतमा ऋण दिनुपर्ने माग उनको थियो ।
‘निजी क्षेत्रले ब्याज लिएर काम गरिरहेका हुन्छौं । तर, कोरोनाको कारण सबैक्षेत्र प्रभावित हुँदा उद्योगी व्यवसायी सबैभन्दा बढी प्रभावित भएका छन्’ राणाले भनिन्, ‘रोजगारी बढाउन, उत्पादनमा बढाउन उद्योगीलाई सहुलियतमा ऋण आवश्यक हुन्छ । पर्यटन विशेष हेर्नुपर्छ । कृषि क्षेत्रलाई उस्तै गरी प्राथमिकता राखेर सरकारले बजेट ल्याउनुपर्छ ।’
कोरोनाले विश्व अर्थतन्त्रमाथि नै प्रभाव परेका बेला नेपाल सानो अर्थतन्त्र भए अवस्था गम्भीर बन्दै गएको उनको भनाई थियो । अहिले दैनिक घाटा दुई अर्बको रहेको भन्दै अल्पकालीन र दीर्घकालीन हिसाबमा नीति तय गर्न राज्य तत्पर हुनुपर्ने उनको भनाई थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको उत्थान हुनेगरी बजेट ल्याउन माग गरे । ‘कोरोनापछि यो अप्ठ्यारो अवस्थमा अर्थतन्त्रलाई उत्थान गर्ने गरी सरकार अघि बढ्नुपर्छ । यसका लागि परनिर्भरता घटाएर अवसरको सिर्जना र स्वपूजी निर्माणमा जोड दिनुपर्छ ।’
बढी भएको उर्जा भारतमा बेच्नुभन्दा उद्योगलाई सहुलियत दरमा दिन, गरिब जनतालाई राहत, बिजुलीमा छुटसहितका रिकभरी प्याकेज ल्याउन पनि उनले माग गरे । उद्योगहरु बन्द भएको बेलामा ‘डिमान्ड चार्ज’ र उद्योगलाई सहुलियत दिनुपर्ने माग उनको थियो । कृषि उत्पादनमा परनिर्भरता रहेको भन्दै उनले कृषि क्षेत्रको उत्पादन बढाउन नीतिगत व्यवस्था गर्न र वन क्षेत्रलाई व्यवसायीकरण गर्न माग गरे ।
नाटाका अध्यक्ष अच्युत गुरागाईंले कोरोनाको कारण विश्वमैं सबैभन्दा प्रभाव पर्यटन क्षेत्रमा परेको बताए । बैंकिग क्षेत्रमा सात प्रतिशतसम्म ब्याज झर्दा पनि नाफा हुने गरेको भन्दै पर्यटन क्षेत्रका लागि २ प्रतिशतमा व्याज दिलाइदिन उनले माग गरे । आन्तरिक पर्यटन बढाउने योजनावद्ध कार्यक्रम, चीन र भारतमा पर्यटन प्रमोसन गर्नेतिर ध्यान दिनुपर्ने उनको सुझाव दिए ।
उद्योगीहरु विष्णु अग्रवाल, सतिश मोरसहितले अब मेकानिजम बनाएर लकडाउन खुकुलो पार्ने, इकोनोमीलाई हेरेर सकारात्मक बजेट ल्याउनुपर्ने माग गरे । विकास बजेटमा सम्झौतान नगरी २० प्रतिशत वृद्धि गर्न सके अर्थतन्त्रमा फाइदा पुग्ने उनीहरुको भनाई थियो ।
कांग्रेसले गठन गर्यो ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’
प्रमुख प्रतिपक्षी दल कांग्रेसले देशको विविध क्षेत्रमा कोरोनाले पारेको असर बारे अध्ययन, विश्लेषण एवं देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्न ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गठन गरेको छ । १४ सदस्यीय समितिको संयोजन पूर्व अर्थमन्त्री डा. रामशरण महतले गर्नेछन् । सदस्यहरुमा महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, डा. मिनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, दिपकुमार उपाध्याय, भरत शाह, उदय शमशेर राणा छन् । त्यस्तै, डा. पृथ्वीराज लिगल, डा. शंकर शर्मा, डा. जगदीशचन्द्र पोख्रेल, डा. गोविन्द पोख्रेल र डा. स्वर्णिम वाग्ले सदस्य छन् ।