पोखरा । पोखरा महानगरपालिका वडा नं १० स्थित पोखरा औद्योगिक क्षेत्र अगाडि चार दिनदेखि पाँच वटा लरी रोकिएका छन् । रक्स्यौलबाट पोखरा आइपुगेका फलामजन्य सामग्री औपचारिक रुपमा बुझ्ने आधिकारी व्यक्ति सम्र्पकमा नआउँदा पाँचवटा लरी बाहिर रोकिएका हुन् ।
पोखरा औद्यागिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रबन्धक भूषणकुमार उपाध्यायले लरीमा आएको फलामजन्य सामग्री औपचारिक रुपमा कसको हो भन्ने नै थाहा नभएकाले आफूले ट्रकलाई औद्योगिक क्षेत्र भित्र ल्याउन नसकेको बताए ।
“औद्योगिक क्षेत्र भित्रको कुनै पनि उद्योगले पनि उक्त सामग्रीको आफ्नो भन्नुभएको छैन, सुपर मादी हाइड्रोपावर लिमिटेडले जिल्ला प्रशासन कास्कीलाई पासको लागि सिफारिस गरिपाउँ भन्ने व्यहोराको पत्र लरी चालकले देखाएको र उक्त पत्रमा कास्की जिल्लाको मादि हाइड्रो पावर लागि निर्माण सामग्री भएको जनाइएको छ” उपाध्यायले भने, ‘हामीले थप कुरा बुझिरहेका छौँ ।’
सुपर मादी हाइड्रो पावरका प्रबन्ध निर्देशक पुष्पज्योती ढुङ्गानाले भने सामान हाइड्रो पावरको भए पनि सप्लायर्सबाट माछापुच्छ्रे मेटल उद्योगमा पठाइएको जानकारी दिए । “सामान हाम्रै हो तर माछापुच्छ्रे मेटलले जिम्मा लिनु पथ्र्यो किन लिनुभएन म बुझ्छु ।”
यता वडा नं १० का अध्यक्ष राजकुमार गुरुङले माछापुच्छे्र मेटलका सञ्चालक विष्णु पाण्डे आफूहरुले सामान नमगाएको र जबरजस्ती पठाएको भन्ने जवाफ दिएको बताए । “पाण्डेले जबरजस्ती सामान आइपुगेकोले आफूहरुले नबुझेको भन्नुभएको छ । यहाँ ६ वटा लरीमा एच आर प्लेट्स १४७५ मेटिक टन आइपुगेको छ , कसैले पनि जिम्मेवारी लिन चाहानु हुन्न हामी उपयुक्त विकल्पको खोजी गर्छौ, चालकलाई क्वारेन्टाइनमा राख्ने हो की, सामान फिर्ता गर्ने हो भोलीसम्ममा निर्णय होला ।”
लरी चालक तीर्थलाल श्रेष्ठले लकडाउन अगाडिनै सामान लोड भएको र ल्याउने समयमा लकडाउनका कारणले सिमरामा रोकिएको बताए । “हाईड्रोमेकानिकल अन्तर्गत पेनस्ट पाइप सामान पहिलेनै लोड भएको हो, ल्याउने बेला लकडाउन भयो, हामी सिमरामा रोकियौं , अहिले सरकारले विकास निर्माणको कामको सामग्री लान दिने भनेपछि हामी पोखरा आयौँ तर हामीलाई सम्पर्क गर्न भनेको व्यक्तिले फोन रिसिभ गर्नु भएको छैन । हामी निकै समस्यामा भयौं सामान बुझ्ने व्यक्तिहरु नहुँदा” उनले खानाको भन्दा पनि शौचालयको समस्या भएको बताए ।
“हामी ६ जना छौँ खान त चिउरा दालमोठ खाएर पनि बस्छौ, तर शौचालयको समस्या भयो । अनिर्णयको बन्दी बनेको छौ सम्बन्धित निकायले छिटो ध्यान दिए हुन्थ्यो । यस्तो अवस्थामा हामीलाई गाडीमा बस्न बाध्य भएका छौ” श्रेष्ठले यसअघि तीनचोटी हाइड्रोपावरको सामान ल्याइसकेको अहिले भने सामान नबुझेर दुःख दिएको बताए ।