बैंक सकारात्मक छैनन्, विदेशी बैंकबाट कर्जा ल्याएर भए पनि पर्यटन क्षेत्र जोगाउनुपर्छ :व्यवसायी

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ वैशाख २९, साेमबार,१२:५०:PM  
बैंक सकारात्मक छैनन्, विदेशी बैंकबाट कर्जा ल्याएर भए पनि पर्यटन क्षेत्र जोगाउनुपर्छ :व्यवसायी

एक महिना कर्मचारीलाई अनिवार्य घुम्न पठाउनु पर्छ

सीएन पाण्डे,  निर्वतमान अध्यक्ष  नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा)

कोरोनाले पर्यटन र हवाई क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । यी क्षेत्र पूर्णतया   बन्द भएको कारण पुन सञ्चालनका लागि चालू पूँजी आवश्यक छ । त्यसैले उद्योग वाणिज्य महासंघ मार्फत पनि सुलभ दरमा चालू पूजीको लागि पहल गर्न अनुरोध गरेका छौ । यो व्यवसाय सामान्य हुन अझै २ वर्ष लाग्ने अनुमान छ ।  कर्जाको व्याज, किस्तालाई २ वर्षपछि तिर्ने गरी पुनर्तालिकाको व्यवस्था मिलाउने पहल गरिदिन अनुरोध गरेका छौ ।

होटल क्षेत्रमा राष्ट्र बैंकको निर्देशन अनुसार केहि सस्थाले रि–फाइनान्सीङ कर्जा मार्फत ५ प्रतिशत छुँट प्राप्त गरिसकेका छन्   । यस्तो छुँटको प्याकेज पुरै पर्यटन क्षेत्रमा बृहत कोष मार्फत उपलब्ध गराउन अनुरोध गरेका छौ । यस्तै होटल क्षेत्रमा थुप्रै मजदुरहरु छन् । ती मजदुरहरुलाई पुरै तलब दिनु भनेर निर्णय गरेको  । यो कुनैपनि हालतमा कार्यन्वयन गर्न सक्ने अवस्था छैन ।कुनैपनि होटलसँग त्यस्तो क्षमता पनि छैन । त्यसैले साढे १२ प्रतिशत तलब  दिन्छौं र सर्भिस चार्ज करिब ८ देखी १० हजार दिन अझै ६ महिना बाकी छ । त्यो हामी भुक्तानी गर्छौ । बाकी ५० प्रतिशत कर्मचारीले छुट गर्ने र बाकी सरकारले दिनुपर्छ । कर्मचारीको विषेश फण्ड स्थापना गरी अल्पकालीन कोष बनाउन अनुरोध गरेका छौं ।

यस्तै हवाई क्षेत्र पनि पूर्ण रुपले आक्रान्त भएको छ । हवाई क्षेत्रका लागि व्यवसायले डलरमा लोन लिएका छन् । त्यो लोनलाई पनि रि–फाइनान्सङको व्यवस्था  हुन सकियो भने बल्ल हामी त्यसलाई सञ्चालन गर्न सक्छौं । 
 

भाइरस सामान्य भइसकेपछि कम्तीमा पनि आन्तरिक पर्यटकका लागि ट्राभल एजेन्सी मार्फत हरेक प्रतिष्ठानहरु, सरकारी कार्यालय, निजी क्षेत्रहरुले बर्षको १ महिना अनिवार्य घुम्न पठाउनु पर्छ । यसो गर्न सकिएमा नेपालको पर्यटन क्षेत्र बाच्छ । यो क्षेत्रमा भएका साढे चार लाख संस्थागत मजदुरहरु र अप्रत्यक्ष रुपमा रहेका लाखौले रोजगारी पाउँछन् । 

विदेशी बैंकहरुबाट लोन लिएर व्यवसायीलाई दिनुपर्छ

खुमबहादुर सुवेदी
अध्यक्ष, ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल(टान)

सरकारले ४४ किसिमका उद्योगहरुलाई सञ्चालन गर्न दिएपनि पर्यटन क्षेत्र परेको छैन । अन्तर्राष्ट्रिय उडान र गतिविधि बढ्न अझै १ वर्ष लाग्ने अनुमान छ ।  सुरक्षीत तवरले खोल्न सक्ने होटल, रेष्टुरेन्ट र अन्य क्षेत्रलाई सञ्चालन गर्न दिन आवश्यक छ । लक डाउनपछि बन्द भएका अन्य क्षेत्रका उद्योगहरु तत्कालै सहज रुपमा सञ्चालन हुन सक्छ तर, पर्यटन क्षेत्रसँग सम्बन्धीत भएका उद्योग व्यवसायहरु सञ्चालन हुन थप ६ महिना भन्दा बढी लाग्न सक्छ । अहिले सबैभन्दा बढि समस्या पर्यटन क्षेत्रमै छ । पर्यटकिय सिजनमै महामारीले हामीलाई थला पारेको छ ।

भ्रमण वर्ष २०२० मनाइरहेकोले धेरै व्यवसायीहरुले ठूलो लगानी गरेका थिए । अहिले ती सबै लगानीहरु जोखिम छन् । हाम्रा सम्पूर्ण नगद लगानी सकिसकेको छ । त्यस कारण थप लगानी गर्न सकिने अवस्था पनि छैन । सरकारले पर्यटन क्षेत्रलाई विषेश प्राथमिकता दिन आवश्यक छ । भोलिको उज्यालो दिन हेर्नका लागि आजको कालो दिनलाई सरकारले मेटिदिन आवश्यक छ । त्यसका लागि बैंकका किस्ता र व्याजलाई सहजीकरण गर्न पर्यटन मन्त्रालय मार्फत विभिन्न मागहरु राखेका छौ । समाधान गरिदिन आग्रह गर्छौ । 

मजदुहरुको पनि धेरै समस्या छ । उनीहरुलाई पनि न्यूनतम १५ हजार देखी प्रति मजदुरलाई कर्जा उपलब्ध गराउन पनि सरकारलाई अनुरोध गरेका छौं । नेपाली बैंकहरुले  सहुलियत दरमा व्यवसायीलाई ऋण दिन सक्दैन भने सरकार ग्यारेन्टी बसेर विश्व बैंक, एशिएन बैक देखी चाइनिज बैंकलगायतका  अन्तर्राष्ट्रिय बैंकहरुबाट कर्जा लिएर व्यवसायीहलाई ऋण प्रवाह गर्नुपर्ने अवस्था छ । हामीले सधै बैंकसँग आश गरिरहेका हुन्छौं, तर नेपालका बैंकले सकरात्मक प्रतिक्रिया दिएका छैनन् । अन्र्तराष्ट्रिय बैंकबाट ऋण लिनुपर्ने अवस्था सिर्जना भएको छ । यो सम्बन्धीत सरकारले विषेश ध्यान दिन आवश्यक छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पर्यटन बाट थप

Top