काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले मावन जीवनको रक्षालाई पहिलो प्राथमिकता दिने बताएका छन । आगामी बजेट मानवको जीवन रक्षा गर्न स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर आउने उनले जानकारी दिए ।
विनियोजन विद्ययेको सिद्धान्त र प्राथमिकताको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै अर्थमन्त्री खतिवडाले आधाभूत स्वास्थ्य सेवा र माध्यमिक शिक्षा निःशुल्क गर्ने आधारबाट बजेट आउने स्पष्टपारे ।
स्वास्थ्यसंगै दोस्रो प्राथमिकता आर्थिक पुनरुत्थान र कृषिलाई जोडेर आउने उनले स्पष्टपारे । यसैगरी बजेटले वैदेशिक रोजगारीबाट फर्किनेलाई व्यवस्थापनका साथै आन्तरिक रोजगारीलाई ध्यान दिने भएको छ ।
‘देशले रोग र भोक दुबैसंग लड्नुपर्ने भएको छ’ अर्थमन्त्री खतिवडाले भने ‘उत्पादनसंग श्रम टुटेकालाई केही आर्थिक क्षेत्र खुलाउन सकिएन भने कहाँबाट रोजगारी दिन सकिन्छ ? राहतका नाममा पैसा बाँडेर मात्र पुग्दैन ।’ रोजगारी बढाउन आर्थिक क्रियाकलापका साथै लगानी पनि हुनुपर्नेमा उनले जोड दिए । ‘न्युनतम आर्थिक क्रियाकलाप सुचारु गरिएन भने रोगबाट बचिएल तर भोकबाट बचिन्दैन’ उनले भने ।
आर्थिक वर्षको सुरुदेखि अर्थतन्त्रमा समस्या देखिएको अर्थमन्त्री खतिवडाले स्वीकार गरेका छन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) ले आर्थिक वृद्धि ६ प्रतिशत मााथि हुन्छ भनेको अर्थमन्त्रीले स्मरण गराएका छन । उनले कारोना महामारीले अर्थतन्त्रमा शिथिल आउँदा लक्ष्यअनुसारको वृद्धि हासिल गर्न नसकेको अर्थमन्त्रीले बताएका छन ।
पछिल्लो समयमा व्यापार घाटा कम भएको, भुक्तानी सन्तुलनको अवस्था राम्रो रहेको तथ्याँक अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेका छन । यसैगरी विद्युत आयात कुल आपूर्तिको ३५ प्रतिशत भएकोमा अहिले घटेर १८ प्रतिशतमा सीमित भएको उनले सुनाए । यो वर्ष १ अर्ब रुपैयाँ बराबरको बिजुली भारतमा निकासी भएको अर्थमन्त्रीले बताए ।
राष्ट्रिय गौरवका आयोजनाहरु सन्तोषजनक ढंगले बढाउन नसकेको उनले स्वीकार गरेका छन । संभाव्यता अध्ययन नभएका र डीपीआर पुरा नभएका आयोजना गौरवमा राखिएकाले समस्या आएको उनको भनाई छ ।
पुरक हैन पूर्ण बजेट
अर्थमन्त्री खतिवडाले अहिले नै पूर्ण बजेट नल्याउँ भन्ने सुझाव ठिक भएको बताए । उनले भविष्यको सही आँकलन सोच र विवेक प्रयोग हुने भएकाले आगामी आर्थिक वर्षको बजेट पूर्ण आकारको आउने स्पष्टपारे । जुनबेला आवश्यक पर्छ, त्यो बेला पुरक बजेट सरकारले ल्याउने सक्ने उनले जानकारी दिए ।