काठमाडौं । आगामी चुनावको मिति तोक्न दिएको दबाब असफल भएपछि नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य चण्डीराज ढकाल, वस्तुगतका उपाध्यक्ष उमेशलाल श्रेष्ठ र एसोसिएटका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घले डोकेको स्थायी समितिको बैठक बहिस्कार गरेका छन् ।
उनीहरुले लिखित रुपमा महासंघ नेतृत्वलाई चुनावको मिति तोक्न दिएको दबाब असफल भएपछि दुई उपाध्यक्ष र विशिष्ट सदस्यले आजका लागि डाकिएको स्थायी समितिको बैठक बहिस्कार गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले बताइन् ।
महासङ्का अध्यक्ष भवानी राणालाई चुनावको मिति तोक्न उपाध्यक्ष द्वय ढकाल, श्रेष्ठ र विशिष्ट सदस्य ढकालले निरन्तर दबाब दिँदै आएका थिए । तर, अध्यक्ष राणाले देश कोरोनाको महामारीमा परेका बेला चुनावको मिति तोक्न नहुने पक्षमा देखिएपछि उनीहरुले बैंठक बहिस्कार गरेका हुन् ।
चुनावको मिति तोक्न उहाँहरुले लिखित रुपमै पत्र दिनु भएको थियो, यस्तो बेला चुनावको मिति तोक्ने कुरा हुँदैन ।
अहिले मिति तोक्न नहुने पक्षमा बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा पनि हुनुहुन्थ्यो,’ राणाले क्यापिटल नेपालसँग भनिन्, ‘अहिलेको प्राथमिकता भनेको कोरोनासँग जुध्नु र थिल्थिलो बनेको अर्थतन्त्रलाई पुनर्जीवन दिनु हो । त्यसमा लाग्नुपर्ने बेला मिति तोकेर त्यसम अल्झिनु नहुने पक्षमा हामी थियौं । त्यही भएर उहाँहरु बैंठकमा सहभागि हुनु भएन ।’ उनीहरुले असार २५ गते चुनावको मिति तोक्न अध्यक्षसहित केही पदाधिकारीलाई दबाब दिँदै आएका थिए ।
उनका अनुसार निकै दिनदेखि चण्डीराज ढकाल, उमेश श्रेष्ठ र चन्द्रप्रसाद ढकालले दबाब दिइरहनु भएको थियो । मुलुक लकडाउनमा छ । यस्तो बेला चुनावको मिति तोक्दा महासङ्घ प्रति सबैको नकारात्मक धारणा बन्ने भएकाले महासंघले तत्काल मिति नतोकेको उनको भनाइ छ ।
‘देश अलि सहज परिस्थितिमा फर्किने वित्तिकै मिति तोकेर चुनाव गराउने भन्दा पनि उहाँहरुले मान्नु भएन,’ राणाले भनिन् ।
तर, नेपाल उद्योग वाणिज्य महासंघमा वस्तुगततर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठले कार्यव्यवस्तताका कारण स्थायी समितिको बैंठकमा उपस्थित हुन नसकेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आफू अध्यक्ष बनेर आफ्नो भिजनलाई कार्यान्वयन गरेर अघि बढ्नलाई आतुर रहेको बताए । तर, मेरो उद्देश्य पूरा गर्नका लागि संस्थाको गरिमालाई धरापमा पार्दिन । ‘केही साथीहरुले यस्तो बेलामा पनि चुनाव गर्नुपर्छ, हतार गर्नु भएको छ’ उनले भने, ‘अहिलेको समयमा चुनावको मिति तोकेर चुनावमा होमिने कार्य गतल हो । लकडाउन रहेसम्म चुनावको घोषणा हुन सक्दैन । र साथीहरुलाई पनि यस कार्यमा नलाग्न आग्रह गर्छु ।’