काठमाडौं । पेट्रोलियम पदार्थ बिक्री बापत नेपाल आयल निगमबाट पाउने कमिशन बढाएर चार प्रतिशत पुर्याउन व्यवसायीहरुले माग गरेका छन् । अहिले पाइरहेको कमिशन रकम कम भएकोले पम्प सञ्चालन गर्नै कठिन भएको भन्दै पेट्रोल पम्प व्यवसायीहरुले कमिशन बढाउन दबाब दिएका छन् ।
कोरोना भाइरसको कारण व्यवसायीहरु थला परेको र निगमले डिलरको समस्यामा साथ दिन कमिसन रकम बृद्धि गर्नुपर्ने नेपाल पेट्रोलियम डिलर्स एसोसिएनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले बताए । उनले भने ‘व्यवसाय चलाउन धौधौ भइरहेको बेला कमिशन रकम बढाउन आवश्यक छ ।’
सोमबार एसोसिएसनले निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई व्यवसायीको तर्फबाट माग पेश गर्दै तत्कालै कमिशन रकम नबढाए व्यवसाय सञ्चालन गर्न कठिन हुने बताएका छन् । यस्तै ३ वर्षसम्मका लागि व्यवसायीहरुसँग नविकरणको शुल्क समेत नलिन एसोसियसनले आग्रह गरेको छ । पम्पहरुले नविकरण बापत बार्षिक ५ हजार रुपैयाँ तिर्दै आएका छन् ।
पम्पहरुले प्रतिलिटर डिजेलमा २ रुपैयाँ ६५ पैसा र पेट्रोलमा २ रुपैयाँ २ पैसा बिक्री गरेबापत कमिसन पाउदै आएका छन् । त्यस्तै पप्पहरुले नियम अनुसार तेल नउठाएमा लाग्ने जरिवाना ४० हजार रुपैयाँ तत्कालका लागि कटौती गर्न आग्रह गरेका छन् । केहि महिना देखी भएको लक डाउनका कारण अधिकाशं पम्पहरु बन्द रहेको र यो बेला तेल उठाउन नसक्दा जरिवाना नलिन व्यवसायीहरुले अनुरोध गरेका हुन् ।
निगमलाई बुझाएको माग पत्रमा पेट्रोल पम्पका कर्मचारीहरुको पनि पीसीआर टेष्ट गराउनु पर्ने, पीपीई किट उपलब्ध गराउनु पर्ने, कारोबार बन्द अवधीमा कर्मचारीहरुको तलब निगमका तर्फबाट भुक्तानी गरिदिनु पर्नेलगायत छन् ।
यसैगरी देशभरका पेट्रोल पम्पहरुमा लगानी भएको बैंकहरुको कर्जाको ब्याज ६ महिनासम्म मिनाहा गरी किस्ता भुक्तानी अवधी बढाउन पहल गरिदिन समेत निगमलाई आग्रह गरिएको छ । निगमका ट्याङकर चालक तथा सह चालक सरह नै पेट्रोल पम्पहरुका मजदुरलाई निगमका तर्फबाट प्रोत्साहन भत्ता व्यवस्था गरिनु पर्ने माग छ ।
एसोसिएसनले स्थानीय, प्रदेश र संघको तर्फबाट पम्पहरुमा लगाएका विभिन्न शिर्षकका कर तथा शुल्कहरु २ वर्षसम्मका लागि मिनाहा गर्न समेत माग गरेका छन् ।