काठमाडौं । चालू आर्थिक वर्षमा नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रबाट सञ्चालित विभिन्न आयोजनाबाट १९३ मेगावाट विद्युत् राष्ट्रिय ग्रीडमा थपिएको छ ।
सरकारले चालू आर्थिक वर्षमा १ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको थियो । तर, विश्वभर फैलिएको कोरोना भाइसर महामारीको प्रभाव नेपालमा पनि पर्न थालेपछि सो लक्ष्यमा धक्का लाग्ने देखिन्छ । सोहि कारण माथिल्लो तामाकोशीलगायत निजी क्षेत्रका झन्डै तीन दर्जन आयोजना तोकिएको समयभित्रै सम्पन्न हुन नसक्ने भएका छन् ।
यो सँगै ९० प्रतिशत जनसंख्यामा बिजुलीको पहुँच पुगेको सरकारले जनाएको छ । अर्थ मन्त्रालयले गरेको चालू आर्थिक वर्ष २०७६÷०७७ को आर्थिक सर्भेक्षणले करिव ९० प्रतिशत जनसंख्यामा आधारभूत बिजुलीको उपलव्धता पुगेको जनाएको हो । चालू आवमा ४५६ मेगावाटको निर्माणधीन माथिल्लो तामाकोशी आयोजनासहित निजी क्षेत्रबाट प्रवद्धित तीन दर्जन आयोजना सम्पन्न भएर बिजुली उत्पादन हुने सरकारले प्रक्षेपण गरेको थियो । तर, पछिल्लो पटक कोरोना भाइरसको प्रभावले तोकिएको समयमा ती आयोजना सम्पन्न हुन अवस्था छैन् ।
माथिल्लो तामाकोशी पनि आउँदो असारभित्र सम्पन्न हुन गाहे अवस्था रहेको आयोजनाका सुचना अधिकारी डा. गणेश न्यौपाने बताउँछन् । प्राधिकरणले लिएको लक्ष्यमा यो वर्ष महत्वपूर्ण आयोजना पनि माथिल्लो तामाकोशी नै थियो । जसले लक्ष्यको आधा विद्युत् उत्पादन हुने अनुमान गरिएको थियो । त्यतिमात्रै नभएर प्राधिकरणको सहायक कम्पनी चिलिमे हाइड्रोपावर अन्र्तगतका रसुवागढी र सान्जेन जलविद्युत् आयोजना पनि चालू आवमा सम्पन्न हुने अवस्थामा छैनन् ।
अन्य जलविद्युत् आयोजना पनि कोरोना भाइरसको कारणले थलिएका छन् । चालू आवमा थप भएको विद्युत् गरी राष्ट्रिय ग्रीडमा १३ सय ५५ मेगावाट पुगेको छ । जलविद्युत् आयोजनाबाट १२ सय ३३ मेगावाट, थर्मल प्लान्टबाट ५४ मेगावाट र बैकल्पिक ऊर्जाबाट ६८ मेगावाट विद्युत् उत्पादन भएको हो ।
हाल निजी क्षेत्रका आयोजनाबाट ६५१ मेगावाट र विद्युत् प्राधिकरणको स्वामित्वका कम्पनीबाट ६३५ मेगावाट विद्युत् उत्पादन भएको हो ।आर्थिक सर्भेक्षणका अनुसार, चालू आवको फागुन मसान्तसम्म ४ हजार २५२ किलोमिटर प्रसारण लाइन, १ लाख ४७ हजार ९४५ किमी वितरण लाइन निर्माण गरिएको छ ।
गत आर्थिक वर्ष २०७५/०७६ मा १५.३ प्रतिशतमा रहेको विद्युत् चुहावट चालू आवमा ९.९ प्रतिशतमा झरेको छ ।