सम्भवत हाम्रो समयको सबैभन्दा ठुलो बिपत्तिमा अहिले सारा विश्व जुझिरहेका छन् । कोरोनाको महामारीले धनी, गरिब, जनता, शासक सबैलाई अत्याइरहेको छ । सोहि कारण नेपाल सरकारले पनि सम्पूर्ण जनतालाई घर भित्रै थुनेर राखेको दुई महिना भन्दा बढी भइसकेको छ ।
लकडाउनले आम मानिसलाई मानसिक, शारीरिक तथा आर्थिक रूपमा ठूलो क्षति पुर्याइरहेको छ । आफ्ना हरेक नागरिकको स्वास्थ्यको जिम्मा राज्यले लिनुपर्छ । तर, यसो भन्दैमा घरभित्र कतिसम्म दिनसम्म थुनेर राख्ने भन्ने बिषयमा पनि सोच्नु पर्ने समय आइसकेको छ । दुई महिनादेखि पुरै देश ठप्प हुदा राज्यले अर्बौको आर्थिक क्षति बेहोर्नु परिसकेको छ । समाजका तल्लो बर्गका मजदुर बर्गहरु रोगले भन्दा पनि भोकले मर्नुपर्ने अवस्था सिर्जना हुन थालेको छ ।
कतिपय हाम्रोभन्दा ठुला जनसंख्या भएका देशले कोरोनाविरुद्धको लडाइँ लकडाउन नगरिकन पनि सफल भएका छन् । त्यसैले उनीहरुको अपनाएका बिधि तथा प्रकृयालाई पछ्याउनु हाम्रो लागि लाभदायक हुन्छ ।
कोभिड–१९ ले सम्पूर्ण विश्वमा जस्तै नेपालमा पनि सबैभन्दा बढी क्षती पु¥याएको क्षेत्र पर्यटन हो । त्यसैले पर्यटन क्षेत्रमा पारेको प्रभाव र त्यसको अध्ययन गरी पुरानै अवस्थामा फर्काउन पनि सरकारले ठूलो मिहिनेत गर्नुपर्ने हुन्छ । सकेसम्म चाँडो पर्यटन पुनरुत्थान र दिगो पर्यटन विकासका कार्यक्रमहरु ल्याउन आवश्यक छ । डुब्दा एउटा व्यवसायीमात्र डुब्ने होइन, धेरैको रोजगारी गुम्छ, राजस्व गुम्छ र विदेशी मुद्राको आम्दानी गुम्छ । त्यसैले अहिलेको जटिल परिस्थितिलाई मध्यनजर गर्दै लगानीको आधारमा कम्पनिलाई बर्गीकरण गरि विषेश राहतको प्याकेज ल्याउन जरुरी छ ।
सम्पूर्ण पर्यटन व्यवसायीलाई ‘खाए खा नखाए घिच’ भन्ने तबरले आफ्ना कुरा लादियो भने सम्पूर्ण उद्योगनै धरासाई हुन सक्छ । विषम परिस्थतिमा व्यवसायीका समस्यालाई आत्मसाथ गर्दै सरकारले राजस्व फिर्ता गर्ने, बिना धितो कर्जा दिने, ब्याज छुट दिने लगायतका अन्य चलायमान अबधारणा ल्याउनु पर्छ । जसले सम्पूर्ण व्यवसायीहरु यस जटिल परिस्थितिबाट उस्कन सकुन ।
अहिलेको प्रमुख मुद्दा भनेको नेपालको पर्यटन बजारलाई यथास्तिीमा टिकाएर आगामी वर्ष अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गर्न तयारी अवस्थामा रहने भन्ने हो । त्यसका लागि विदेसमा गर्नु पर्ने प्रचार प्रसारलाई तिब्रता दिनुपर्छ । विश्वभरका जनताको पहूच भएको सीएनएन, बीबीसीलगायत संचार माध्यमहरु हामीले प्रयोग गर्नसक्नुपर्छ ।
धेरै देशहरुले पर्यटक भित्र्याउन अपनाएका मोडालिटीहरु जस्तै विभिन्न देसका ठुला संचार माध्यम, ब्लगर, सामाजिक अभियानता वा उच्च सामाजिक छबि बनाएका ब्यक्तित्वहरुलाई नेपाल भ्रमण गराउँनुपर्छ । यस्तो गर्न सकिएमा सम्पूणदेशका साथै पर्यटनक्षेत्रलाई ठूलो राहात प्राप्त हुन्छ ।
नेपालमा निजी उद्योग व्यवसायसंग आबद्ध कर्मचारीको संख्या ५०–६० लाखको हाराहारीमा छ । उनीहरुलाई राज्यले नीति नै बनाएर वर्षको अतिरिक्त १५ दिनको भ्रमण खर्च दिएर आन्तरिक पर्यटन प्रबद्र्धनलाई प्रोत्साहन गर्नुपर्छ । यसले देशभरीकै आन्तरिक पर्यटनमा सकारात्मक माहौल सिर्जना गराउँछ ।
विदेसी पर्यटक आकर्षण गर्न फ्रि भीसा दिने, १० दिनको बसाईमा १ दिन सरकारको तर्फबाट फ्रि स्टे अफर, कम्तिमा ५ पटक नेपाल आएका पर्यटकलाई विगतको रेकर्ड हेरी सेवा तथा सुबिधा थप, विदेशी पर्यटकहरु फर्कदा राज्यले सम्मान स्वरुप मायाको चिनो दिने जस्ता सामान्य कार्यक्रमले पर्यटकको मन जित्न सकिन्छ ।
यसले नेपालबाट फर्केका पर्यटकहरुमा नेपाल प्रति राम्रो छवी बसाउँछ । उनीहरुको माउथ प्रमोशनका कारण पनि अन्य धेरै पर्यटकको रोजाई नेपाल भ्रमण हुन सक्छ । साथै एक पटक नेपाल आएका पर्यटकहरु पटक पटक आइरहन मन पराउँछन् ।
(लेखक, बिनोद सापकोटा आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत हुन् )