तमु समाज युकेको आर्थिक सहयोगमा पोखराका एक सय परिवारलाई राहत वितरण गरिएको छ । पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष रामराज लामिछानेको उपस्थितिमा पोखराको प्रदर्शनी केन्द्रमा सामाजिक दुरी कायम गर्दै राहत वितरण गरिएको तमु समाज युके आमा समूहका संस्थापक अध्यक्ष माया गुरुङले जानकारी दिइन् ।
उनले भनिन् ‘अहिलेको अवस्थामा देखिने भन्दा पनि भोग्ने जीवन निकै दयनीय छ । सरकारले पनि राहत बाँडिरहेको छ, तर कति परिवारमा अझै पुग्न सकेको छैन, बन्दाबन्दी लम्बिरहँदा एक चरणको राहत सकिएर के खाने भनेर बसेका परिवारको नामावली उतारेर राहत वितरण गरेका हौँ ।’
ज्याला मजदुरी गर्ने पयर्टन मजदुर, सार्वजनिक सवारी साधनका चालकहरु, नेपालमै बसेर काम गरिरहेका भारतीय मजदुरहरुको पहिचान गरी आधा बोरा चामल, दाल र तेल वितरण गरिएको उनले जानकारी दिईन् । ।
“भौतिक शरीर जहाँ भए पनि भावानात्मक माया देशसँग जोडिएको छ । थोरै थोरै रकम सङ्कलन गरेर नेपालका विपन्न परिवारको हातमुख जोड्ने सेवामा जुटेका छौ ” गुरुङले भनिन् ।
राहतको लागि तमु समाज युकेबाट ५० हजार, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, निवर्तमान अध्यक्ष अर्जुनकुमार गुरुङ, निवर्तमान उपाध्यक्ष विजु गुरुङ लगायतको परिवारबाट ४० हजार र आफ्नो व्यक्तिगत तर्फबाट १० हजार गरेर एक लाखको राहत वितरण गरेको उनको भनाई छ ।
राहत वितरण कार्यक्रममा वडाध्यक्ष लामिछानेले असहज अवस्थामा परोपकारी मनहरुको सहयोगले वडामा कसैको घरमा पनि आगो निभ्न नपाएको बताए । “महानगरले ६ सय ८८ परिवारका लागि १० लाख ८० हजार उपलब्ध गराएका थियो ।
वडामा १९ सय ४५ जनाको निवेदन परेको थियो । यहाँ धेरै ज्याला मजदुरी गर्नेहरु हुनुहुन्छ, बन्दाबन्दीले उहाँहरुलाई प्रत्यक्ष असर पारेको छ । विभिन्न संघ संस्थाको सहयोगले राहतको माग गर्ने सबैलाई वितरण गर्न सफल भयौ ” लामिछानेले भने । उनले अवस्था हेरर अहिलेसम्म वडामा २६ सय ४९ परिवारलाई करिब ३५ लाखको राहत वितरण गरिसकेको जानकारी दिए ।