काठमाडौं । सरकारले मदिरामा कर बढाउने सुइँको पाएपछि अधिकांश व्यापारीले रक्सीको स्टक बढाएका छन् । अहिले व्यापारीले आफूसँग भएको पैसाले रक्सी किनेर थुपारेका हुन ।
सरकारले बजेटमार्फत मदिरामा कर बढाउने भित्री तयारी गरेपछि अहिले धमाधम व्यापारीले रक्सी किनेर थुपारेको एक मदिरा उद्योगीले बताएका छन् । सस्तोमा किनेर महंगो मूल्यमा बेच्न व्यापारीले मदिराको स्टक बढाएका हुन ।
अहिले मदिराको कारोबार एकाएक बढेको छ । बजेट आउने बित्तिकै मदिरामा कर बढ्छ । कर बढ्ने बित्तिकै मदिरको मूल्य वृद्धि हुने भएपछि अहिले व्यापारीले धमाधम किनेर थुपारेको उद्योगीहरु बताउँछन् ।
बजारमा मदिराको खपत शुन्य प्राय छ । तर, गोदाममा स्टक रहेको मदिरा अहिले धमाधम बिक्री भइरहेको एक उद्योगीले बताए । ‘बजेट आउनु केही दिन अघिदेखि मदिराको बिक्री असामान्य रुपमा बढेको छ’ ती उद्योगीले भने, ‘तर, अहिले मदिराको बिक्री बढ्नु पर्ने कुनै कारण छैन् ।’
एक व्यापारीका अनुसार कर बढ्ने बित्तिकै मदिराको मूल्य पनि बढ्छ । त्यही भएर जे–जति पैसा छ, त्यसको मदिरा किनेर राखेको स्वीकार गरे । अहिले लकडाउनका कारण बजार बन्द छ । होटल व्यवसाय खुलेका छैनन् ।
तर, केही समयपछि लकडाउन खुल्ने बित्तिकै बजारमा चहलपहल सुरु हुन्छ । होटलहरु खुल्न थाल्छन्, त्यसपछि मदिराको बिक्री बढ्ने व्यापारीको बुझाइ छ । त्यही बेला बढेको मूल्यमा मदिरा बेच्न पाइने भएकाले ठूलो परिमाणमा मदिराको कारोबार भएको व्यवसायीहरु बताउँछन् ।
विदेशी रक्सी भन्दा पनि नेपाली मदिराको कारोबार ह्वात्तै बढेको उद्योगी बताउँछन् । निकै लामो सयमदेखि सुस्ताएको मदिराको अहिले ह्वात्तै बढेको उद्योगीहरु बताउँछन् । अहिले एकाएक मदिराको कारोबार बढ्नुको पछाडी कर बढ्ने डर हो ।