काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई दिने र उनीहरुबाट लिने दुवैको ब्याजदर घटाउने भएको छ । सञ्चयकर्तालाई दिने र उनीहरुबाट लिने ब्याजदरमा पुनरावलोकन गर्न कोषले एक अध्ययन समिति गठन गरेको छ ।
समितिले शिफारिश गरेपछि कोषले यस विषयमा निर्णय लिने छ । आगामी साउन १ गतेदेखि कोषले नयाँ ब्याजदर लागु गर्ने छ । प्रत्येक वर्ष कोषले ब्याजदरमा पुनरावलोकन गर्दै आएको छ । चालु आर्थिक वर्ष कोषले ब्याजदरमा हेरफेर गरेन । कोषले ६ लाख कर्मचारीबाट सञ्चय कोष लिंदै आएको छ ।
ब्याजदर समायोजनका लागि समितिले काम गरिरहेको सञ्चय कोषका प्रशासक तुलसी गौतमले बताए । यो वर्ष बैंकहरुको पनि ब्याजदर घटेकाले कोषको पनि घट्ने बताए । कोषले १ देखि १.५० प्रतिशतसम्म ब्याजदर घटाउन सक्ने संभावना रहेको गाैतमले जानकारी दिए ।
यद्यपी निर्णय हुन बाँकी छ । आगामी आर्थिक वर्षमा ब्याजदर अन्तर (स्प्रेड) १.२५ प्रतिशतबाट घटाएर १ प्रतिशतमा झार्ने तयारी भएको गौतमले सुनाए । कोषले नाफा मात्र हेर्नु नहुने भएकाले स्प्रेडदर १ प्रतिशत मात्र राख्ने तयारी गरेको उनकाे भनाइ छ ।
हाल कोषले सञ्चयकर्तालाई वार्षिक ८.२५ ब्याजमा लिएर उनीहरुलाई ९.५ प्रतिशत ब्याजमा सापटी दिदैं आएको छ । सञ्चयकर्ताबाट लिंदा र उनीहरुलाई दिंदाको पनि ब्याज घट्ने छ । ब्याज कम भएपछि नाफामा पनि गिरावट आउने छ ।
सञ्चयकर्तालाई ८.२५ प्रतिशत ब्याज दिनुका साथै गत आर्थिक वर्षमा गरेको नाफाको ९५ प्रतिशत उनीहरुलाई लाभांशका रुपमा वितरण गरेको छ । गत आर्थिक वर्षमा कोषले ४ अर्ब ४४ करोड रुपैयाँ नाफा गरेको थियो । लाभांशसमेत गर्दा सञ्चयकर्ताले पाउने प्रतिफल साढे ९ प्रतिशत पुगेको प्रशासक गौतमले स्पष्टपारे ।
सञ्चय कोषले आफ्नो ऋण लगानीमा निर्माण भइरहेका ५ ओटा जलविद्युत आयोजनाको ब्यादर घटाएर १०.७५ कायम गरिसकेको छ ।
यसअघि १२ प्रतिशत ब्याजदर तय गरेकोमा सञ्चय कोषले १ प्रतिशत घटाएर ११ प्रतिशत कायम गरेको थियो । चालु आर्थिक वर्षदेखि बढीमा ०.५ प्रतिशत विन्दुसम्म घटाएर १०.५ प्रतिशत विन्दुमा झारेको छ ।
यसैगरी कोषले अनलाइनबाट सञ्चयकर्तालाई भुक्तानी दिने काम सुरु गरेको छ । करिव ६० प्रतिशत भुक्तानी अनलाइनबाट सुरु भएको कोषले जनाएको छ ।