काठमाडौं । नविल बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनलाई लत्याएको पाइएको छ । कोरोना महामारीबाट थिल्थिलो बनेको अर्थतन्त्र उकास्न केन्द्रीय बैंकले ल्याएका निर्देशनलाई नविलले पटक पटक उल्ङ्घन गरेको खुलेको छ ।
केन्द्रीय बैंकले कोरोनाबाट पीडित बनेका उद्योगीलाई राहत दिन विभिन्न निर्देशन ल्याएपछि त्यसलाई कार्यान्वयन नगरेको खुलेको हो ।
केन्द्रीय बैंकले चैतमा बुझाउने साँवा/ब्याजको किस्ता असारमा बुझाउने व्यवस्था ल्याएको थियो ।
यदि कुनै व्यापारीले चैतमै बैंकलाई किस्ता बुझाएमा १० प्रतिशत ब्याज छुट दिनुपर्ने निर्देशन ल्याएको थियो । राष्ट्र बैंकको निर्देशनलाई नविलले अहिलेसम्म कार्यान्वयनमा नल्याएको उद्योगीहरुले बताएका छन् ।
अन्य सम्पूर्ण बैंकले केन्द्रीय बैंकले ल्याएको निर्देशनलाई परिपालना गर्दै सोही अनुरुप छुट दिइ हिसाव समेत मिलान गरिसकेका छन् । तर, नविलले अहिलेसम्म चैत महिनामा बुझाएको ब्याजबाट पाउनुपर्ने १० प्रतिशत रकम फिर्ता दिएको छैन् ।
यतिसम्म कि, एउटै सहवित्तीयकरण कर्जा (कन्सोर्टियम) मा अन्य बैंकहरुले १० प्रतिशत रकम फिर्ता दिइसकेका छन । अहिलेसम्म नविलले दिएको छैन ।
‘उद्योगीले यस विषयमा बैंकमा बुझ्दा हामीले आफ्नै नियम बनाएका छौं, सोहीअनुसार मात्रै दिन्छौं भनेर जवाफ दिने गरेको छ,’ ती उद्योगीले भने ‘केन्द्रीय बैंकको निर्देशन विपरीत आफैले निर्णय गरेर कुनमा दिने कुनमा नदिने पनि गर्न मिल्छ ?’
राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट एउटै कन्सोर्टियम लोनमा एउटा बैंकले १० प्रतिशत ब्याज छुट दिने र अर्को बैंकक नदिने भन्ने नहुने बताए । यदि दिन नमिल्ने भए कुनै पनि बैंकले दिँदैनन्, अरु बैंकले दिने बित्तिकै नविलले पनि दिनुपर्ने उनको भनाइ छ ।
केन्द्रीय बैंकले चैत मसान्तमा ब्याज बुझाउने ऋणीलाई १० प्रतिशत छुट दिने व्यवस्था ल्याएको हो । त्यसको बर्खिलापमा कोही पनि जान नमिल्ने भट्टको भनाइ छ । यदि कोही त्यसरी गए उक्त बैंक विरुद्ध राष्ट्र बैंकमा उजुरी हाल्न उनले सुझाए ।
नविलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी साहले केन्द्रीय बैंकले ल्याएको निर्देशनलाई पालना गरेको दावी गरे । ‘केहीलाई दिनुपर्ने सुविधा दिन बाँकी भएको भए हामी सुविधा दिन तयार छौं,’ उनले भने, ‘तर, राष्ट्र बैंकको निर्देशन प्रस्ट नभएकाले पनि केही अन्यौलता आएको हो ।’
कुन क्षेत्रको उद्योगलाई सुविधा दिने, कुन क्षेत्रको उद्योगलाई नदिने भन्ने राष्ट्र बैंकको निर्देशनमा प्रष्ट नभएको उनको भनाइ छ । एउटै कन्सोर्टियम लोनमा एउटा बैंकले दिने, अर्को बैंकले नदिने पनि हुन्छ भन्ने हाम्रो प्रश्नमा साहले भने ‘त्यसमा नविलबाट केही गल्ती भएकोभए हामी हेर्छौ ।’