काठमाडौँ । सर्वोच्च अदालतले विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुसार प्रत्येक्ष र अग्रपंक्तिमा काम गर्ने कर्मचारी र वारेन्टाइनमा बस्ने व्यक्तिलाई अविलम्ब पीसीआर परीक्षणको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले आइतवार कोभिड–१९ विरुद्ध प्रत्यक्ष र अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवा उपलब्ध गराउने चिकित्सक, नर्स र स्वास्थ्य सेवामा खटिएका कर्मचारीलाई सुरक्षाको व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
आदेशमा भनिएको छ, ‘स्वास्थ्य सेवामा खटिएका कर्मचारी, सफाइकर्मीहरु तथा आम जनसमुदायसँग प्रत्यक्ष सम्पर्कमा रहने सुरक्षाकर्मीलाई आवश्यक पर्ने पोशाक, वस्तु, उपकरण लगायतका सम्पूर्ण सामग्रीहरु पर्याप्त मात्रामा नि : शुल्क अविलम्ब उपलब्ध गर्ने व्यवस्था गर्नु/गराउनु ।’
आदेशमा क्वारेन्टाइनमा रहेका सम्पूर्ण व्यक्तिको अविलम्ब पीसीआर विधिबाट निःशुल्क स्वास्थ्य परीक्षण गर्नु, क्वारेन्टाइनमा राखिएको व्यक्तिको हकमा निजलाई आवश्यक पर्ने स्वास्थ्य सेवा र सुरक्षाको यथोचित प्रबन्ध मिलाउनु भनिएको छ ।
‘सामाजिक दूरीको मान्यतालाई कायम राखी गर्मीको मौसम भएकाले लामखुट्टेलगायतबाट हुनसक्ने सङ्क्रमणबाट जोगाउन आवश्यक व्यवस्था गर्नु एवं क्वारेन्टाइनको अवधिभर क्वारेन्टाइनमा बसेका व्यक्तिलाई निःशुल्क भोजनको व्यवस्था गर्नु’, आदेशमा भनिएको छ ।
आदेशमा आधारभूत स्वास्थ्य सेवा संविधानमा नै मौलिक हकका रुपमा रही निःशुल्क भएको, सरुवा रोगलाई आधारभूत सेवाभित्र पारी नि : शुल्क रहने भन्ने कुरा जनस्वास्थ्य सेवा ऐनमा उल्लेख भएको र कोरोना भाइरस सरुवा रोग भएको हुँदा अत्यावश्यक सिटामोललगायतका औषधिहरु उपलब्ध गराउन भनिएको छ ।
साथै, मास्क र चिकित्सकीय मास्कहरु गुणस्तरीय ह्यान्ड सानिटाइजार नि : शुल्क रुपमा आवश्यक पर्ने व्यक्तिलाई अविलम्ब उपलब्ध गर्न आदेशमा भनिएको छ । रासस