काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आन्तरिक ऋण उठाउँदा बैंकिङ प्रणालीमा तरलताको समस्या नआउने बताएका छन । उनले तरलताका लागि सरकारले विभिन्न वित्तीय औजारको व्यवस्था गरेकाले आगामी वर्ष बैंकहरुलाई लगानी गर्न समस्या नहुने स्पष्ट पारेका छन ।
राष्ट्रिय प्राकृति तथा वित्त आयोगको सुझावको आधारमा कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) को ५ प्रतिशतको सीमाभित्र रहने गरी आन्तरिक ऋण उठाउने उनले स्पष्टपारे । आगामी आर्थिक वर्षमा सरकारले २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ ।
बजेटका विषयमा संघीय संसदको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिंदै अर्थमन्त्री खतिवडाले निजी क्षेत्रमा जाने कर्जाको व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थालाई विभिन्न वित्तीय उपकरण दिएर बढाउने स्पष्टपारे ।
मुलुक अनिश्चयको अवस्थामा रहेको र अब समय खेर फाल्न नहुने अब आर्थिक क्रियाकलाप अघि बढाउनु पर्नेमा अर्थमन्त्रीको जोड थियो । उच्च सतर्कता अपनाएर क्रियाकलाप अघि बढाउनु पर्ने उनको भनाई छ । नभइन नहुने र गर्न सकिने मात्र कुरा बजेटमा समावेश गरेको उनको दावी छ ।
बजेटको आकार संयममित रुपमा आएको बताउँदै उनले भने ‘फागुन यता चालु वर्षको दायित्व आगामी वर्ष पुरा गर्नुपर्ने,आन्तरिक स्रोतलाई ध्यान राख्नु पर्ने साउनदेखि सबै विकासको काम अघि बढाउन सक्ने अवस्था पनि देखिन्दैन ।’
खर्चको क्षमता बढाउन ३ अर्ब २० करोड रुपैयाँ राखेको उनले जानकारी दिए । राजश्व धेरै उठन नसक्ने भएका कारणले चालु आवको भन्दा १० प्रतिशत कम अनुमान प्रस्ताव गरेको उनले सुनाए ।
यसैगरी एसियाली विकास बैंक, युरोपेली इन्भेस्टमेन्ट बैंक र विश्व बैंकको सहयोग गर्ने भएकाले वैदेशिक ऋण ल्याउन समस्या नहुने दावी खतिवडाले गरे ।
चालुभित्र कतिपय पुँजीगत खर्च रहेको बताउँदै अर्थमन्त्रीले तिनिहरुलाई बजेटको वर्गिकरणअनुसार चालुमा राखिएको र समपुरक, विशेष अनुदान सबै पुँजिगत खर्च नै भएको, सबै जोड्दा पुँजीगत बजेट ५ खर्ब ८४ अर्ब रुपैयाँ पुग्ने उनले जानकारी दिए ।