काठमाडौं । कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनमा विद्यार्थीलाई जुममार्फत अध्यापन गराएको भन्दै नाम चलेका केही निजी विद्यालयले अभिभावकलाई लाखौं रुपैयाँको बिल पठाएको खुलेको छ । सरकारले निजी विद्यालयले विद्यार्थीलाई जुममार्फत अध्ययन गराउन सक्ने तर त्यसको शुल्क लिन नपाउने निर्णय गरेको छ ।
तर, नाम चलेका प्रिमियर इन्टरनेसनल, निसर्ग बाटिका, युलियन्सलगायतका निजी स्कुलले अनलाइन कक्षा सञ्चालन गरेको भन्दै प्रति बिद्यार्थी एक लाख भन्दा बढीको बिल पठाएको अभिभावकहरुले गुनासो गरेका छन् ।
प्रिमियर इन्टरनेसनलले प्लस टु पढ्ने बिद्यार्थीलाई भर्ना फी बापत बार्षिक २४ हजार ८ सय ३५ रुपैयाँ, लाइब्र्रेरी फी १६ हजार ५ सय, स्टेशनरी ३८ हजार ७ सय २०, ट्युसन फी ३७ हजार रुपैयाँको बिल पठाएको एक अभिभबकले क्यापिटल नेपाललाई जानकारी दिए । उनले भने ‘मेरी छोरी प्रिमियर स्कुलमा अध्ययनरत छिन् । तर, अनलाईन क्लास शुरु गरेको भन्दै १ लाख ३७ हजार बराबरको बिल पठाएको छ ।’
त्यस्तै निसर्गले केही समयदेखि अनलाईन कक्षा लिइरहेको थियो । अनलाइन कक्षा लिएकै भन्दै ५० हजार रुपैयाँ भन्दा बढीको बिल पठाएको छ । उक्त बिल अभिभावकले तिर्न नसक्ने बताएपछि स्कुलले अनलाईन कक्षा बन्द गरेको छ ।
त्यसैगरी, युनियन्स स्कुलले पनि अभिभावकलाई अन्धाधुन्ध बिल पठाएको त्यहाँका अभिभावकले बताएका छन् । विद्यालयले मनलाग्दी रुपमा बिल पठाउन थालेपछि विद्यालय र अभिभावकबीच बिबाद समेत हुन थालेको छ । ‘अनलाइन कक्षा भनेर २/३ घण्टा पढाउने अनि लाइब्रेरीको शुल्क, किताबको शुल्क, प्रशासनिक खर्च सबै लिन कहाँ पाइन्छ,’ ती अभिभावकले भने, ‘फेरी सरकारले जुममार्फत पढाउन पाइने तर, शुल्क लिन नपाइने भनेको छ । अहिले निजी विद्यालयले धमाधम बिल पठाइरहेका छन् ।’
सरकारले स्कुल खोल्न अहिलेसम्म अनुमति दिएको छैन् । तर, निजी विद्यालयले धमाधम बिल पठाउनु जायज नभएको ती अभिभावकले बताए । उनले भने, ‘बिल नतिरे आफ्ना विद्यार्थी तत्काल लैजानुस्, हामी स्कुल बन्द गर्छौ भनेर धम्की समेत दिन थालेका छन् ।’
उनका अनुसार अभिभावकलाई थर्काएर अहिले नै सम्पूर्ण पैसा लिइहाल्ने मनस्थितिले विद्यालयले बिल पठाएका छन् ।
सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जुम मार्फत अध्ययन गराए पनि निजी विद्यायले शुल्क लिन नपाउने बताएका छन् । तर, निजी विद्यालयहरु सरकारी निर्णयविरुद्ध धमाधम अभिभावकलाई बिल पठाइरहेको अभिभावकहरुको गुनासो छ ।
अनलाईन कक्षा सञ्चालन गर्नु एकदम राम्रो हो । तर, विद्यालय गएर पढेजस्तो त अनलाइन कक्षाबाट हुँदैन् । तर, विद्यालय गएजसरी शुल्क लिन नमिल्ने अभिभावकको गुनासो छ ।
‘लकडाउन खुलोस्, सरकारले स्कुलको क्यालेन्डर निकाल्छ । त्यसपछि सरकारले पढाइ सुरु गर्नु भनेर निर्देशन दिन्छ । त्यसपछि स्कुललाई तिर्ने शुल्क अभिभावकहरु तिर्न तयार छौ ।’ उनीहरुको भनाइ छ । निजी विद्यालयले इमेल र मौखिक रुपमा लाखौं लाख बिल तिर्न भनेका छन् ।