काठमाडौ । राष्ट्रपति कार्यालयको बैठक कक्षमा २७ लाख ५४ हजार रुपैयाँमा गलैचा फेर्न लागेको खुलेको छ । १ करोड रुपैयाँ खर्च गरेर गलैंचा फेर्न लागियो भन्ने हल्ला निराधार भएको आपूर्ति कम्पनीले जनाएको छ ।
केही सञ्चारमाध्यमबाट शीतल निवासमा १ करोडको गलैंचा फेर्न लागिएको समाचार बाहिर आएको थियो । गलैंचा फेर्न जिम्मा पाएको हिमालयन डेकोरका प्रवन्ध निर्देशक शोभा गुरुङले २७ लाख ५४ हजारको टेण्डर खुलेको जानकारी दिइन।
‘त्यहाँका बैठक कोठामा गलैंचा फेर्ने जिम्मेवारी हामीले नै पाएका हौं । सरकारी कार्यालयबाट प्रतिस्पर्धा गरेर तोकिएको रकम अनुसार काम हुन लागेको हो । तर कहाँबाट करोडको कुरा आयो आश्चर्य लागेको छ, गुरुङले भनिन् ।
राष्ट्रपति कार्यालयमा नेपाली गलैंचा राख्न शहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले वैशाख १२ गते पहिलोपल्ट बोलपत्र आब्हान गरेको थियो ।
बोलपत्र कागजातमा नेपाली उनी गलैंचा आपूर्ति गर्न क्षेत्रफल सहित करिब २७ लाख ५४ हजार रुपैयाँको अनुमानित लागत समेत तोकी प्रतिस्पर्धा गराइएको थियो ।
नयाँ भवनका विभिन्न बैठक कक्ष, विदेशी पाहुनलाई स्वागत लगायत कक्षमा राख्न नयाँ गलैंचा राख्न लागिएको हो । नयाँ भवनमा विभिन्न बैठक कक्ष, विदेशी अति विशिष्ट पाहुनासँग स्वागत र छलफललगायत कक्ष छन् ।
शीतल निवासका जनसम्पर्क उपसचिव हिरामणी आचार्यले पनि गलैंचा फेरिएको रकमबारे बाहिर बढाइचढाई गरेर आएको बताए ।
सबै रकम पारदर्शी भएको, नियमानुसार कम भन्दा कम मूल्यमा नेपाली गलैंचा खर्च भएको उल्लेख गर्दै आचार्यले भने, ‘तथ्य एकातिर, समाचार अर्कैतिर आइदियो, हामी दुखी छौं ।’