काठमाडौ । विश्वमा महामारीको रुप लिईरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण सुस्ताएको अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र निर्माणको कामले पुन गति लिएको छ । सामाजिक दुरी, सेनिटाइजरको प्रयोगलगायतका आवश्यक स्वास्थ्य सावधानी सम्बन्धि निर्देशिकाको पालना गर्दै निर्माण कार्यलाई तीव्रता दिन पर्यटन मन्त्रीले निर्देशन दिएपछि गत शनिबार हेटौंडा र काठमाडौंबाट कामदार ल्याई पुन काम तीव्र बनाइएको हो ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माणाधिन पाँच हजार जना अट्ने सभा हल तथा ध्यान केन्द्रको निर्माण कार्य दुई वर्षअघिबाट शुरु भएको हो । ३८ करोड ५६ लाख रुपैयाको लागतमा पहिलो चरणको काम ०७६ चैत ५ मै सम्पन्न गर्नेगरि ०७४ चैत ६ मा सम्झौता भएको थियो । २०७५ वैशाखमा बुद्धजयन्तीको अवसरमा शिल्यानाश गरिएको थियो ।
‘यस वर्षको बुद्ध जयन्तीको कार्यक्रम नयाँ सभा हलमा नै गर्ने भन्ने थियो तर कोरोनाका कारण प्रभावित वन्यो, पहिलो चरणको लागत पनि घटेको छ , लुम्बिनी विकास कोषका सदस्य सचिव ज्ञानिन राइले भने,‘ फल्ससिलिङ लगायतका केहि निर्माण सामाग्री चीनवाट ल्याउने पर्नेछ, ती सामाग्रीले अड्काउने बाहेकको काम अब चाडै पुरा हुन्छ ।’ उनका अनुसार पहिलो चरणको निर्माण लागत करिब १० करोड घटेर २८ करोड १३ लाखमा झरेकोे छ ।
पहिलो चरणको ८५ प्रतिशत काम सकिएको पनि राईले बताए । उनले भने ‘ कोरियन प्रविधिबाट बनाउनुपर्ने सभाहलको छाना हाल्न दक्ष कामदार चाहिने तर ती कामदार नभएकाले काम रोकिएको थियो तर हेटौडा र काठमाडौंबाट कामदार ल्याएर अस्तिबाट पुन काम शुरु गरेका छौं ।’ छानो, वाथरुम, मार्वल हाल्ने लगायतका अलग अलग क्लष्टरमा करिव ६० जना कामदारले काम गरिरहेका छन् ।
पहिलो चरणको काम सकिए पछि आगामी आर्थिक वर्षमा दोस्रो चरणको काम शुरु हुने कोषका सदस्य सचिव राइले बताए । सभाहलको भित्री साजसज्जा, वाहिर पानीको फोहोरा लगायतका काम दोस्रो चरणमा पर्छन् ।
हजारौ मान्छे एकैचोटी ध्यान गर्न मिल्ने ठूला अन्र्तराष्ट्रियस्तरका सभा सम्मेलन गर्न पनि उपयुक्त हुने कोषका सदस्य सचिव राइले बताए । लुम्बिनीमा हुने बुद्ध जयन्ती समारोह, आध्यात्मिक, धार्मिकलगायतका कार्यक्रम गर्न हलको अभाव भएपछि लुम्बिनी विकास कोषले दक्षिण एसियाकै नमुना सभाहल बनाउन लागेको हो ।
यसको डिजाईन शान्तिको प्रतीक अथवा पोजेटिभ भाईब्रेशनको प्रतिकको रुपमा बनाईएको छ ।
अन्तर्राष्ट्रिय बौद्ध सभाहलमा ध्यान गर्दा आनन्दको अनुभूति प्रदान होस भनी ध्यानकेन्द्रको छानो गोलाकार रुफ ईलिभेसन इलिप्टिकल आकारमा डिजाईन गरिएको छ । सो हलमा ध्यान गर्नका लागि प्रत्येक व्यक्तिको लागि १ बर्ग मिटरको क्षेत्रफल राखिएको छ, जसमा एउटा व्लकमा चारजना मानिस बस्ने व्यबस्था मिलाइएको छ । आवत जावतका लागि २ मि. चौडाई भएको ठाउबाट भित्र–बाहिर गर्ने व्यबस्था मिलाईएको छ भने फ्लोरमा सेतो रंगको माजाईक र ४ ईन्चको सेतो मार्बलले सिमाङ्गकन गरिएको छ ।
सभाहलमा प्रवचन, भजन, भाषण जुनसुकै कुनाबाट पनि स्पष्ट सन्न सकिने किसिमले अत्याधुनिक स्पीकरको व्यबस्था, कार्यक्रमको प्रत्यक्ष प्रसारणका लागि भिडियो स्क्रीन तथा पर्याप्त लाईटको व्यबस्था गरिएको छ ।