काठमाडौं । कोरोना भाइरस (कोभिड १९) का लागि बिमा गर्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने अब पीसीआर रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र आवश्यक पर्ने भएको छ ।
अबदेखि बिमा कम्पनीले कोरोना बिमा गर्दा अनिवार्य पीसीआर रिपोर्ट माग्ने छन् । कम्पनीहरुले पछिल्लो समय कोरोना संक्रमण फैलिन थालेपछि पीसीआर रिपोर्ट माग्न थालेका हुन् ।
नियामक निकाय बिमा समितिले पनि बिमा कम्पनीहरुलाई एक परिपत्र जारी गदै कोरोना बिमा गर्न पहिलो चरणमा विदेशबाट आएका स्वदेशी÷विदेशीसँग अनिवार्य पीसीआर रिपोर्ट लिन निर्देशन दिएको छ ।
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले विदेशबाट आउनेहरुले कोरोना बिमा गर्न चाहेमा अनिवार्य रुपमा पीसीआर रिपोर्ट हेरेर मात्रै बिमा गर्न निर्देशन दिएको बताए ।
‘यसअघि कोरोना बिमा गर्दा पीआर चाहिने व्यवस्था थिएन,’ उनले भने ‘तर, पछिल्लो समय नेपालमा पनि कोरोना महामारी फैलिएपछि बिमा कम्पनीहरुमा ठूलो दाबी आउन सक्ने र त्यसले बिमा कम्पनीहरुलाई नै धरासायी बनाउने सम्भावना देखिएकाले पूर्व सावधानी अपनाइएको हो ।’
२०२० को सुरुआतसँगै विश्वभर कोरोना महामारी फैलिए पनि लामो समयसम्म नेपालमा त्यसको असर देखिएको थिएन । यही बीचमा बिमा कम्पनीहरुले नयाँ प्रडक्टका रुपमा कोरोना बिमा अघि सारेका थिए ।
मानिसहरु कोरोना बिमाप्रति आकर्षित पनि हुँदै आएका छन । तर, पछिल्लो समय कोरोना भाइरसको कहर अत्याधिक बढ्न थालेपछि कम्पनीहरु कोरोना बिमा कसरी गर्ने भनेर छलफलमा जुटेका थिए ।
यसबीच बिमा समितिले पीसीआर रिपोर्ट लिएर मात्रै बिमा गर्ने विधि अघि सारेपछि केही हदसम्म बिमा कम्पनीहरुलाई राहत मिलेको छ । पछिल्लो समय दैनिक कोरोना भाइरस संक्रमितको संख्या ह्वातै बढेको छ ।
सोमबारसम्म १ हजार ८११ जनामा कोरोना भाइसरको संक्रमण देखिएको छ । यसबीचमा ८ जना भाइरसकै कारण मृत्यवरण गरेका छन् । अहिलेसम्म कोरोना संक्रमण देखिएकाहरु अधिकांश विदेशबाट आएका छन् ।
कार्यकारी निर्देशक पौडेलका अनुसार हालसम्म २ लाख २७ हजार भन्दा बढी व्यक्तिले कोरोना बिमा गरेका छन् । त्यसबापत बिमा कम्पनीहरुले १३ करोड रुपैयाँबराबरको बिमा शुल्क संकलन गरेका छन् ।
समितिले पीसीआर रिपोर्ट पोजेटिभ देखिने बित्तिकै बिमा कम्पनीहरुले सम्बन्धित व्यक्तिलाई बिमाङ्क रकम उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको छ ।
समितिले प्रतिव्यक्ति १ लाख रुपैयाँ बिमाङ्क रकमको बिमा गर्दा १ हजार रुपैयाँ शुल्क लिने व्यवस्था गरेको छ । तर, परिवारकै बिमा गर्नुपरेमा भने केही सरल सुविधा दिएको छ । एक लाख बिमाङ्क रकमको बिमा गर्दा प्रतिव्यक्ति १ हजार र परिवारको हकमा थप प्रतिव्यक्ति ६०० का दरले बिमा शुल्क लाग्ने व्यवस्था गरेको छ ।
यसको अर्थ परिवारमा पाँच जना सदस्य छन् भने पहिलो एक जनाको १ हजार र बाँकी चार जनाको ६ सयका दरले बिमा शुल्क तिर्दा पाँच जना परिवारको पाँच लाख रुपैयाँको बिमा हुन्छ । त्यसको दाबी भुक्तानी भने प्रतिव्यक्ति कै हिसावले हुन्छ ।
यस्तै ५० हजार रुपैयाँको बिमाङ्क रकममा बिमा गर्दा प्रतिव्यक्ति ५०० र परिवारको हकमा प्रतिव्यक्ति थप ३०० रुपैयाँका दरले बिमा शुल्क बुझाउनुपर्छ ।
बिमा समितिले निर्जीवन बिमा कम्पनीहरुलाई मात्रै कोरोना बिमा गर्ने सुविधा दिएको छ । हाल १९ ओटा निर्जीवन बिमा कम्पनी सञ्चालनमा छन् ।