काठमाडौं । बैंकमा कार्यरत प्रमुख कार्यकारी अधिकृत (सीईओ) र कर्मचारीको काम बैंंकसँग सम्बन्धित मात्र हो । तर, एनआईसी एशिया बैंकका सीईओ रोशनकुमार न्यौपाने र चिफ बिजनेस अफिसर अर्जुनकुमार खनियाँले जुवाको खालबाट पक्राउ परेका बैंकका सञ्चालक र संस्थापकलाई छुटाउन लविङ थालेका छन् ।
सञ्चालक भनेअनुसारको निर्णय मात्र गर्ने ‘डमी’ सीईओको आरोप लागिरहेको न्यौपाने र अफिसर खनियाँले सोमबार राती कमलादीस्थित गनगौर रिजेन्सी बुटिक होटलबाट जुवा खेल्दै गर्दा पक्राउ परेका एनआईसी एसियाका संस्थापक अशोककुमार अग्रवाल र सञ्चालक रामचन्द्र संघाईलाई छुटाउन सोमबार राती नै दरबारमार्गस्थित प्रहरी वृत्त पुगेका थिए ।
लकडाउनमा जुवा खेल्ने ९ प्रतिष्ठित व्यवसायी कमलादीबाट पक्राउ
बैंकरको जिम्मेवारी भूलेर न्यौपाने र खनियाँ दरबारमार्ग प्रहरी वृत्त पुगेको एनआईसी एशिया बैंकका एक उच्च अधिकारीले बताए । न्यौपाने दरबारमार्गभन्दा केहि टाढा बसेर खनियाँलाई प्रहरी वृत्त पठाएका थिए । प्रहरीबाट मिडियामा बाहिरिएको भिडियो फुटेजमा खनिया प्रहरी वृत्त वरिपरि घुमिरहेका देखिन्छन् ।
खनियाँले वृत्तका डीएसपी रन्जन दाहाललाई समेत भेटेर जे भए पनि आजै राती छोड्नुपर्ने दबाब सिर्जना गरेको वृत्तमा रहेका एक प्रहरीले जानकारी दिए ।
पक्राउ पर्नेमा अशोककुमार अग्रवाल, रामचन्द्र संघाईसहित सुरेशकुमार अग्रवाल, पुरुषोत्तम अग्रवाल, गोविन्दराम सरिया, विमल आउजा, विमल खेतान, नन्दकिशोर शर्मा तथा होटल सञ्चालक मिक्की जोगाई छन् ।
उनीहरुलाई मंगलबार जिल्ला प्रशासन कार्यालयमा म्याद थपका लागि लगिएको थियो । प्रशासनले १० दिनको म्याद थप गर्न निर्णय गरे पनि कोरोना संक्रमण महामारीका कारण भन्दै प्रहरीले पाँचदिन झारेको थियो । हिरासतमा राख्दा जोखिम हुने भएकाले मंगलबार नै उनीहरुलाई छोड्ने तयारी भएको छ ।