काठमाडौं । गाउँमा प्रवेश नै नगरी खानीदेखि उद्योगसम्म कच्चा पदार्थ ल्याउने सकिने अवस्था हुँदा हुँदै पनि स्थानीय सरकारले खानी सञ्चालन गर्न नदिएपछि भारतको राजस्थानबाट क्लिङ्कर आयात गर्न बाध्य भएको उद्योगीहरुले बताएका छन् ।
हरेक खानीबाट कच्चा पदार्थ झिकेर जङ्गलको बाटो हुँदै आफ्नो उद्योगमा ल्याउन सकिने अवस्था छ । तर, स्थानीय सरकारले गाउँमा कोरोना फैलिने भन्दै खानी सञ्चालन गर्न नदिए पनि सम्पूर्ण क्लिङ्कर उद्योग बन्द गराएर भारतबाट क्लिङ्कर ल्याउन थालेका छन् ।
उद्योगबाट पाँच किलोमिटर टाढा रहेको खानी सञ्चालन गरेर कच्चा पदार्थ ल्याउँदा कोरोना सल्किने भयो । तर, भारतको राजस्थानबाट क्लिङ्कर ल्याउँदा कोरोना संक्रमणको जोखिम नबढ्ने ? एक उद्योगीले प्रश्न गरे ।
याे पनि पढ्नुस्, ःखानी सञ्चालनमा गम्भीर नबन्दाको असर: भारतबाट आउन थाल्यो क्लिङ्कर, उद्योगी भन्छन्,-‘रहर होइन बाध्यता’
जङ्गलको बाटोबाट उद्योगसम्म कच्चा पदार्थ लैजाने हुँदा कोरोना संक्रमणको जोखिम नहुने बताउँदा पनि स्थानीय तहले खानी सञ्चालनको अनुमति नदिएको उद्योगीको गुनासो छ ।
‘पहिलो कुरा त, हामीले जङ्गलको बाटोबाट कच्चा पदार्थ ल्याउने हो । जङ्गलबाट सामान ल्याउने वित्तिकै गाउँमा कोरोना संक्रमण हुने कुनै सम्भावना हुँदैन्,’ अर्घाखाँची सिमेन्टका सञ्चालक राजेश अग्रवालले भने, ‘खानीबाट कच्चा पदार्थ ल्याउने चालक तथा सहचाकललाई उद्योगले नै खाने बस्नेको व्यवस्था गर्छौ भन्दा पनि खानी चलाउन पाइएन । बाध्य भएर भारतबाट क्लिङ्कर ल्याउन थालेका छौं ।’
उनका अनुसार अहिले धेरै सिमेन्ट उद्योगले आफ्नो क्लिङ्कर उद्योग बन्द गरेर भारतबाट क्लिङ्कर मगाइ रहेका छन् ।केन्द्रीय सरकारले पनि पटक–पटक खानी सञ्चालनका लागि सहजीकरण गर्न स्थानीय सरकारलाई आग्रह गरेको छ । तर, केन्द्र सरकारको कुरालाई स्थानीय तहले कुनै चासो नदिई खानी सञ्चालनको अनुमति नदिएको उद्योगीले बताएका छन् ।