काठमाडौं । किस्ताबन्दीमा ठेकेदारलाइ पेश्की भुक्तानी दिएर सुरु गरिएको ४८.८ मेगावाटको खिम्ती—२ जलविद्युत् आयोजना कारोनाका कारण थप प्रभावित बन्न पुगेको छ । कोभिड—१९ रोकथाम गर्न गरिएको बन्दाबन्दी(लकडाउन) अघि नै चाड मनाउन चीन गएका कामदार आउन नपाउँदा आयोजनाका बाँकी काम ठप्प हुन पुगेका हो ।
इन्जिनियरिङ, खरिद तथा निर्माण र वित्तीय (इपीसीएफ) मोडेलमा बन्ने उक्त आयोजना निर्माण सुरु हुनु अघि आयोजनाले ठेकेदार कम्पनीलाइ १० प्रतिशत पेश्की भुक्तानी दिनुपर्छ । सानिमा बैंकको अगुवाइमा ९ बैंकले आयोजनाको वित्तीय व्यवस्थापन जुटाउनुपर्छ ।
बैंकमा ‘फाइनान्सिङ क्राइसिस’ हुदाँ ठेकेदारलाइ दिने पेश्की किस्तावन्दीमा भुक्तानी गरेर आयोजना सुरु गरियो । जसोतसो लकडाउन अघि नै चीनबाट कामदार आएर आयोजना निर्माण थालेयता कोभिड—१९ को संक्रमण नेपाल भित्रिएपछि आयोजना ठप्प छ ।
साढे २ बर्षअघि चाइनाको चोङजिङ वाटर टर्बाइन वक्र्स (सीडब्लूटीडब्लू) कम्पनीले बनाउने गरी ठेक्का सम्झौता भएको थियो । पिपुल्स हाइड्रोपावर लिमिटेड र ठेकेदार कम्पनीसँग ८ अर्ब ८० करोडमा ठेक्का सम्झौता भएको थियो ।
आयोजना बनाउन ठेकेदार कम्पनीले स्रोत, उपकरण, जनशक्ति लगानी आफैं लगाउनुपर्छ । त्यसका लागि निर्माण अघि नै पेश्की बापत कम्पनीलाइ आयोजनाले १० प्रतिशत रकम भुक्तानी दिनुपर्छ । उक्त पेश्की रकम भुक्तानी दिन नसक्दा आयोजना निर्माण सुरु हुन सकेको थिएन । बैंकले पनि समयमै ऋण प्रवाह नगरिँदिदा गत २०७६ कात्तिक मै सुरु पर्ने आयोजना धेरै ढिला हुनपुग्यो ।
अहिले आयोजनाको ‘प्रि कन्ट्रक्सन’ का सबै जसो काम सम्पन्न भएका छन् । आयोजनाको साइटसम्म जाने बाटो १०÷१० किलोमिटर र ट्रान्समिसन लाइन बनाइसकिएको छ । ३ ओटा पुल, १५ ओटा क्याम्प, खानेपानी आपूर्ति व्यवस्था, स्थानीय सडक स्तरोन्नती तथा विस्तार लगायतका कामहरु पूरा भएका छन् । ठेकेदार कर्मचारीले आयोजनाका सुरुवाती काम गरिरहेका थिए ।
चिनियाँ ठेकेदारसँग यसअघि २०७५ बैशाख मै आयोजना सुरु गर्ने सम्झौता भएको थियो । तर, सम्झौता भएको दुई वर्ष पछि मात्रै चिनियाँ कम्पनीले काम सुरु गर्यो । ढिला आयोजना सुरु गर्नु र कोरोनाको महामारीका कारण आयोजना थप डेढ वर्ष पर धकेलिन सक्ने आयोजनाका इन्जिनियर रामहरी शर्माले बताए । त्यस अनुसार नै लागत पनि बढ्दै जाने छ ।
अमेरिकी डलरमा भुक्तानी गर्नुपर्ने र थप ढिलाइ हुँदा आयोजनाको लागत बढ्ने छ । अहिले नै कति लागत बढ्छ भनेर भन्ने स्थिति नरहेको शर्माले बताए ।
दोलखा र रामेछापको सीमा नदी खिम्ती खोलामा उक्त आयोजना निर्माणाधीन छ । आयोजनाले वि.सं २०७३ मा निर्माण अनुमतिपत्र (लाइसेन्स) पाएको थियो ।