काठमाडौं । सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न भएको खर्च विवरण सार्वजनिक गरेको छ । शुक्रबार बसेको कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले अहिलेसम्म कोरोना नियन्त्रणमा भएको खर्च सार्वजनिक गरेको हो ।
जसअनुसार, हालसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्च भएको विरण सार्वजनिक गरिएको छ ।
खासगरी कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा सो खर्च भएको जनाइएको छ । नेपालमा पहिलो सङ्क्रमण आशङ्कामा सङ्कलन गरिएको स्वाब नमुना परीक्षणका लागि हङ्कङ पठाइएको थियो । गुणस्तरीय र व्यवस्थित प्रयोगशालाको अभाव रहेको अवस्थाबाट तीन महिनाको अवधिमा देशमा २० भन्दा बढी प्रयोगशाला सरकारले स्थापना गरिसकेको छ ।
भारतलगायत विभिन्न देशबाट आएका एक लाख ५८ हजार ५० जना नेपाली अहिले क्वारन्टिनमा रहेका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत स्वास्थ्य पूर्वाधार निर्माणमा मात्र ९८ करोड ५० हजार रुपैयाँ खर्च भएको विवरण छ । यस्तै, औषधि र स्वास्थ्य सामग्री खरिदमा एक अर्ब ४९ करोड ७५ लाख ५० हजार, क्वारेन्टिन व्यवस्थापनमा चार करोड १९ लाख ९८ हजार र अन्य विविध खर्चका रूपमा १३ करोड चार लाख ३१ हजार रुपियाँ खर्च भएको जनाइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा दुई अर्ब ७१ करोड २९ लाख ४७ हजार रुपैयाँ निकासा भएकोमा अहिलेसम्म एक अर्ब ५८ करोड ५२ लाख ८३ हजार रुपैयाँ खर्च भएको जनाइएको छ ।
त्यस्तै, रक्षा मन्त्रालयमा दुई अर्ब ३८ करोड ५९ लाख २७ हजार निकासा भएकोमा दुई अर्ब ४० करोड २४ लाख ५७ हजार रुर्पयाँ खर्च भएको मन्त्रालय स्रोतले जनाएको छ । जसमध्ये दुई अर्ब ३६ करोड ९५ लाख २७ हजार रुपैयाँ औषधि तथा स्वास्थ्य सामग्री खरिदमा खर्च भएको जनाइएको छ । त्यस्तै, क्वारेन्टाइन निर्माणमा एक करोड २९ लाख रुपियाँ र विविध अन्य ३५ लाख रुपैयाँ खर्च भएको छ ।
मन्त्रालयका अनुसार गृह मन्त्रालयमार्फत दुई करोड ४५ लाख ८८ हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै, परराष्ट्र मन्त्रालयमा ६५ लाख निकासा भएको पाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा छ करोड निकासा भएकोमा पाँच करोड २० लाख रुपैयाँ खर्च भएको छ ।
त्यस्तै, सहरी विकास मन्त्रालयमा एक करोड ४२ लाख, प्रदेशका सामाजिक विकास मन्त्रालयहरू (सातै प्रदेश) मार्फत १५ करोड ७५ लाख रुपैयाँ खर्च भएको जनाइएको छ । जसमध्ये सहरी विकास मन्त्रालयको बजेट क्वारेन्टाइन निर्माणमा खर्च भएको जनाइएको छ । त्यस्तै, प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत स्वास्थ्य पूर्वाधार निर्माणमा १४ करोड र औषधि तथा स्वास्थ्य सामग्री खरिदमा एक करोड ७५ लाख रुपैयाँ खर्च भएको जनाइएको छ ।
यसैगरी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत प्रविधि विकास र वैकल्पिक सिकाइका लागि २६ करोड ७५ लाख ७८ हजार निकासा भएकोमा दुई करोड ६९ लाख ७८ हजार रुपैयाँ खर्च भएको मन्त्रालय स्रोतले जनाएको छ ।
कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाममा संलग्न आठ मन्त्रालयमा जम्मा पाँच अर्ब ६२ करोड ९२ लाख ४० हजार निकासा भएकोमा चार अर्ब १० करोड ५५ लाख छ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।
यता, प्रदेश सरकारमार्फत एक अर्ब ३० करोड चार लाख ९९ हजार रुपैयाँ खर्च भएको जनाइएको छ । जसअनुसार प्रदेश १ ले १९ करोड ३५ लाख ६० हजार, प्रदेश २ मा १३ करोड ३९ लाख ४६ हजार, बाग्मती प्रदेशले १३ करोड ६७ लाख, गण्डकीले १५ करोड ४२ लाख १० हजार, प्रदेश ५ ले सात करोड ७९ लाख ३० हजार, कर्णालीले २३ करोड ९२ लाख ८३ हजार र सुदूरपश्चिम प्रदेशले ३६ करोड ४८ लाख ७० हजार रुपियाँ खर्च गरेको छ ।
त्यस्तै, स्थानीय तहबाट दुई अर्ब ९८ करोड ५१ लाख ९४ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ । विभिन्न स्वास्थ्य सामग्री खरिद, वुहानबाट विद्यार्थीको उद्धार, राहत कार्यक्रम लगायतमा अधिकांश बजेट खर्च भएको समितिका सदस्य तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।