आर्थिक संकट देखाउँदै ३०० बिजुली बस खरिद प्रकृयाबाट पछि हट्यो सरकार  

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार ५, शुक्रबार,०२:१७:PM  
आर्थिक संकट देखाउँदै ३०० बिजुली बस खरिद प्रकृयाबाट पछि हट्यो सरकार  

काठमाडौं ।  आगामी आवमा ३ सय ओटा बिजुली बस खरिद गर्ने तयारीमा रहेको सरकार सो प्रकृयाबाट पछि हटेको छ । राज्य गम्भीर आर्थिक संकटका परिरहेको समयमा ठूलो पूँजीका सवारी साधान खरिद नगर्ने सरकारको नीति अनुसार   बिजुली बस खरिद गर्ने निर्णय कार्यान्वयन नुहने भएको हो । 

सोहि कारण बिजुली बस खरिदका लागि भौतिक पूर्वाधार तथा यातायातले मन्त्रालयले अध्ययन, विवरण तथा मोडालिटी बनाउने काम स्थगित भएको छ ।   बस खरिदका लागि आवश्यक ‘डकुमेन्ट’ र मोडालिटी बनाउन ढिला हुने भएकाले आउँदो वर्ष बिजुली बस खरिद गर्न नसकिने  मन्त्रालयका प्रवक्ता सरोज प्रधानले बताए । ‘बिजुली बस खरिद प्रक्रियाका लागि ‘डकुमेन्ट’ अघि बढेको छ । यो केही समय ढिलो नै होला ।

अहिले सवैतिर बन्द हुँदा बिजुली बस किनेर खिँया किन लगाउने?’ उनले भने ‘कसरी चलाउने भन्ने मोडालिटी पनि ‘क्लियर’ गर्नुपर्छ । अहिले मुलुक ‘क्राइसिस’ मा छ । एकवर्ष ढिला भएमा अहिलेको क्राइसिसबाट अर्थतन्त्र बच्न सक्छ ।’  सरकारको नीति ठूला गाडी र मोटर खरिद नगर्ने भएकाले पनि केही ढिला हुने उनको भनाइ छ । 

यसअघि सरकारी स्वामित्वकै संस्था साझा यातायात कम्पनीलाइ ३०० बिजुली बस खरिद गर्ने जिम्मा दिएको थियो । तर, साझाले खरिद प्रक्रिया अघि बढाउन ढिलाइ गरेपछि पूर्व भौतिक मन्त्री रघुवीर महासेठले खरिद प्रक्रिया रोक्न निर्देशन दिएका थिए । त्यसपछि साझाबाट बिजुली बस खरिदको जिम्मेवारी फिर्ता लिएर सरकार आफैले खरिद गर्ने जनाएको थियो ।

सरकारले निर्दिष्ट गरेको ‘स्पेसिफिकेसन’ भन्दा बाहिर गरेर साझाले बस खरिद गर्ने निर्णय अघि बढाउन खोजेपछि मन्त्रालयले गत २०७६ असोज १ गते खरिद प्रक्रिया यथास्थितिमा राख्न पत्र पठाएको थियो । 

बिजुली बस खरिद प्रक्रिया कसरी अघि बढाउने विषय मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक समिति गठन भइ अध्ययन भइरहेको छ । ३०० ओटा बिजुली बस खरिद गर्न ३ अर्ब रुपैयाँ सरकारले यसअघि नै विनियोजन गरेको थियो । तर, अहिले मुलुक कोरोना भाइरस(कोभिड—१९) का कारण गम्भीर आर्थिक संकटमा पर्ने जोखिम रहेकोले उक्त रकम बिजुली बस खरिदमा खर्च गर्ने पक्षमा सरकार छैन् ।

 अर्थमन्त्री डा. युवराज खतिवडाले आम्दानी र राजश्वले राज्यको नियमित सञ्चालनमा नै कठिनाई भइरहेको बनाउँदै आएका छन् । सोहि कारण कोभिड—१९ ले मुलुक प्रभावित भइरहेको अवस्था सरकारले महंगो, बिलासीता र ठूलो पूँजीका वस्तु खरिद नगरी खर्च कटौती गर्ने नीति अघि सारेका छ । 
 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी अटो बाट थप

Top