इन्स्टाग्रामले समाचारमा ट्विटरलाई जित्ने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार ६, शनिबार,०३:०५:PM  
 इन्स्टाग्रामले समाचारमा ट्विटरलाई जित्ने

बीबीसी । अघिल्लो वर्ष समाचार प्राप्त गर्ने माध्यमका रूपमा आफूलाई हेर्ने प्रयोगकर्ता दोबर पारेको सामाजिक सञ्जाल इन्स्टाग्राम, समाचार स्रोतको रूपमा सामाजिक सञ्जाल ट्विटरलाई उछिन्नतर्फ अघि बढिरहेको एउटा अनुसन्धानले देखाएको छ।

रोयटर्स इन्स्टिच्युट डिजिटल न्युज रिपोर्ट सन् २०२० ले सन् २०१८ यता समाचारका लागि इन्स्टाग्राम प्रयोग गर्ने प्रवृत्ति दोबरले बढेको देखाएको हो। युवाहरूमा यो अझ बढी बलियो देखिएको छ।

उक्त अध्ययनका अनुसार वेलायतका १८ देखि २४ वर्षका झण्डै एक चौथाइ व्यक्तिहरूले कोरोना भाइरसबारे जानकारी पाउन इन्स्टाग्रामलाई समाचारको श्रोतका रूपमा प्रयोग गरेका थिए।

तर सामाजिक सञ्जालहरू सबै भन्दा कम विश्वशनीय समाचार स्रोतहरू मध्येमा रहेको पनि पाइएको छ। जम्मा २६ प्रतिशतले मात्रै कोरोना भाइरसबारे सामाजिक सञ्जालमा सेयर गरिएका समाचारमा आफूलाई विश्वास लाग्ने बताएका थिए।

फेसबुक म्यासेन्जर र अरू च्याटका लागि प्रयोग हुने एपमार्फत् सेयर गरिने समाचारमा त्यही हाराहारीको विश्वास व्यक्त गरिएको थियो। राष्ट्रिय सरकार र समाचार संस्था दुवैलाई ५९ प्रतिशतले विश्वास गरेका छन्।

युवाहरूमा बलियो प्रभाव

सर्वेक्षणमा सहभागी भएका एक तिहाइ भन्दा धेरै व्यक्तिले इन्स्टाग्रामको प्रयोग गरिरहेका छन् र उनीहरूमध्ये दुई तिहाइको उमेर अहिले २५ वर्ष भन्दा कम छ। ११ प्रतिशतले इन्स्टाग्रामलाई समाचारको लागि प्रयोग गर्छन् जुन ट्विटरभन्दा एक अङ्कले कम हो।

‘इन्स्टाग्राम कम उमेरका व्यक्तिहरूमा माझ अझ बढी लोकप्रिय बनिरहेको छ,” उक्त अनुसन्धानका प्रमुख लेखक निक न्युमेन भन्छन् “ साधारण ढङ्गले र राम्रा तस्बिरहरूको प्रयोग गरी प्रस्तुत गरिएका कथामा उनीहरूले एकदमै राम्रो प्रतिक्रिया जनाएका छन्।”

हालकै महिनाहरूमा चर्चित र व्यापक रूपमा विचारहरू आदानप्रदान भएका त्यस्ता समाचारहरूको विषय जलवायु परिवर्तन, ब्ल्याक लाइभ्स म्याटर भनिने अमेरिकामा जारी आन्दोलन र कोरोनाभाइरस रहेको देखिएको छ।

इन्स्टाग्रामको स्वामित्व सामाजिक सञ्जाल कम्पनी फेसबुकसँग रहेको छ। व्हाट्स एपको स्वामित्व पनि फेसबुकसँगै छ।

समाचारको विश्वशनियता कति ? 

४० वटा देशमा गरिएको सर्वेक्षणका क्रममा समाचार र समाचार संस्थाहरूको विश्वशनियताबारे पनि अध्ययन गरिएको थियो।जम्मा ३८ प्रतिशतले मात्रै अधिकांश अवस्थामा आफूहरूले समाचारमा विश्वास गर्ने बताएका छन्।

अध्ययनमा सहभागी भएका आधा भन्दा कम अर्थात ४६ प्रतिशतले आफूले रूचाएको समाचार श्रोतमाथि विश्वास गर्ने बताएका छन्। कोभिडको महामारीपछि समाचार संस्थाहरूको विश्वशनियतामा वृद्धि भइ त्यो ५९ प्रतिशतमा पुगेको थियो।

अनुसन्धानका लेखकहरूले सञ्चारमाध्यमहरूले जनस्वास्थ्य सम्बन्धी सुझावलाई बढी प्रथमिकता दिएकाले यसो भएको विश्वास गरेका छन्।

बीबीसीका न्यू मिडिया सम्पादक अमोल रञ्जन भन्छन पत्रकारहरूका लागि विश्वशनियता एकदमै मूल्यवान वस्तु हो जुन अरू सामाजिक वस्तुहरू जस्तै सजिलै नष्ट हुन्छ तर सहजै हासिल गर्न सकिँदैन।

उनका अनुसार सामाजिक सञ्जालमा विश्वशनियता कायम गर्न गाह्रो रहेको छ किनभने त्यहाँ षडयन्त्रका सिद्धान्तहरू ‘भाइरल’ हुन्छन् र त्यसकै कारणले तथ्यमा बारम्बर सम्झौता गरिन्छ। सत्य के हो भन्ने अवधारणामा नै विवाद हुन्छ। कतिपय अवस्थामा मुलधारको पत्रकारिता विफल भइरहेको बताउने गरिन्छ।

तर महामारी शुरू भएको समयमा ठूलो सङ्ख्याका श्रोता र पाठकले तीनिहरूलाई पछ्याएकाले अहिले पनि उनीहरू नै भरपर्दा र विश्वशनीय समाचारका स्रोतका रूपमा देखिएका छन्। अहिलेको गहिरो प्रश्न कम उमेरका पाठक वा श्रोताहरूले समाचार ग्रहण गर्छन् कि गर्दैनन् भन्ने हो।

रोयटर्सको अध्ययनले समाचार श्रोतका रूपमा इन्स्टाग्रामको उल्लेख्य विस्तार देखाउनुले फेसबुकले उक्त सञ्जाल खरिद गर्ने निर्णय इतिहासकै सबैभन्दा फाइदाजनक मध्ये एउटा भएको देखाएको छ।

यदि लेखकहरूले भविष्यवाणी गरेको जस्तै अर्को वर्ष इन्स्टाग्रामले ट्विटरलाई उछिन्यो भने, त्यसबेला पत्रकारहरूले आफूमाझ लोकप्रिय भएपनि ट्विटरले सार्वजनिक मतलाई कम प्रतिनिधित्व गर्नेछ।

लकडाउनको बीचमा सञ्चारमाध्यम र सरकारमा अरू बेला भन्दा बढी विश्वास देखिएपनि एप्रिल र मे महिनाको बीचमा त्यो ११ अङ्कले घटेको उक्त अध्ययनका लेखक न्यूमेनले बताएका छन्।

औपचारिक रूपमा अध्ययनको अङ्ग नभए पनि हालैको सर्वेक्षणले ‘राष्ट्रिय एकताका क्षण’ कटेको देखाएको छ।विश्वशनियताको विश्लेषणबाहेक उक्त अध्ययनमा ‘मौन बहुसङ्ख्यक’ को पनि चर्चा गरिएको छ जसले आफूले ‘तटस्थ’ समाचारलाई हेर्ने बताएका छन्।

सन् २०१३ यता उक्त रिपोर्टका लेखकहरूले यो प्रश्न गर्न छाडेका थिए किनभने विचार व्यक्त गर्ने र समाचार लेखनमा खुल्ला दृष्टिकोण राख्ने प्रवृत्ति बढ्दै गएको थियो।

अध्ययन गरिएका ९ वटा देशमा सहभागीहरूले ‘कुनै पनि धारणा नराख्ने’ समाचार श्रोतबाट आउने खबर आफूहरूले रूचाउने बताएका छन्। त्यस्तो मत सबभन्दा बलियोसँग जर्मनी, जापान, यूके र डेनमार्कमा व्यक्त भएका थिए। यी देशहरूमा बलियो र स्वतन्त्र सार्वजनिक प्रसारकहरू रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top