बागलुङ । अविरल वर्षाको कारण बागलुङ नगरपालिका वडा नम्वर ४ कुँडुलेमा आधा दर्जन घर, एक विद्यालय, रंग वैंकटेश्वर मुक्तिनारायण मन्दिर तथा शालग्राम संग्राहलय पहिरोको जोखिममा परेका छन । सडक विस्तारको क्रममा जथाभावी डाेजर लगाइएपछि ती क्षेत्रकाे पहिराेकाे जाेखिममा परेका हुन् ।
तर, जोखिममा परेको बस्ती र धार्मिक संरचना संरक्षण गर्न त परकै कुरा लिखित रूपमा जानकारी नअाएकाे भन्दै जिल्ला प्रशासन पन्छिएकाे छ । पहिराे गएर जाेखिम बढेकाे भन्ने सुचना तथा जानकारी सञ्चार माध्यममा अाएपनि प्रशासन ४ दिन सम्म बेखवर बनेकाे स्थानीयले जानकारी दिएका छन् ।
कुँडुँलेमा सडक विस्तारको क्रममा भएको लापरबाहीले करोडौको धार्मिक संरचना उच्च जोखिममा पर्दा पनि बागलङ प्रशासन भने मुकदर्शक बनेको हो । विहीवार देखि शनिवारसम्म परेको अविरल बर्षाले ती क्षेत्रका स्थानीयबासी त्रसित हुने अवस्था छ ।
प्रदेश सरकारको ४२ करोड सहयोगमा बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुले देखि वडा नम्वर ५ मालिका जोड्ने सडक विस्तार गरी महिनौसम्म मेशिनरी वाल नलगाउँदा पहिरो गएको छ । पहिरोले बस्ती र करोडाैंको भौतिक संरचना जोखिममा पारेकोबारे प्रशासनले कस्तो कदम चाल्दैछ भनेर बुझ्न खोज्दा जिल्ला प्रशाशन कार्यालय बागलुङका सुचना अधिकारी बोल्न मानेनन् । प्रशासनमा श्रव्य दृष्य सामग्रीमार्फत जानकारी लिन खोज्दा प्रहरीको संचारमाध्यममा समाचार हेरेको तर, आफुहरुलाई लिखित जानकारी नआएको भन्दै सुचना अधिकारी पन्छिन खोजेका हुन् ।
धर्मानुरागीहरुको सहयोगमा निर्माण सम्पन्न हुने चरणमा पुगेका धार्मिक संरचना सडकका खनेपछि जोखिममा परेपछि सहयोगदाता समेत चिन्तित हुन थालेका छन् । कोरोना र मजदुर अभावको बहानामा निर्माण कम्पनीले काम नगर्दा थप जोखिम बढेको हो ।
अविरल बर्षा सँगै शुक्रवार र शनिवार मन्दिर परिशरको करिव ५० मिटर वाल भत्केको छ । मेसिनरी वाल लगाउन ढिला हुँदा मुक्तिनाथ वेद विद्याश्रम, रंगवेंकटेश्वर मुक्तिनारायण मन्दिर र हालै निर्माण भएको शालग्राम संगालय जोखिममा परेको हो । सडक निर्माणको कामलाई गति दिएर पहिरोको तत्काल व्यवस्थापन गर्न सम्वन्धित निकालयले ध्यान दिनुपर्ने स्थानीय जयलाल सापकोटाले वताए ।
समयमा काम नहँुदा बागलुङ बजार देखि वडा नम्वर ५ मालिका तथा म्याग्दीको वेनी नगरपालिका २ ज्याम्रुकोट लगायतका क्षेत्रका नागरिकलाई आवतजावतमा समस्या भएको छ ।
पहिरोका कारण केन्द्रीय प्रसारण लाईनको विद्युत,केवल इन्टरनेट समेत अवरुद्ध भएको छ । विद्युतको २ वटा पोल ढलेपछि केही समय विद्युत् सेवा विच्छेद भएको थियो ।
सडक विस्तारको काममा ढिँलाई हुँदै कुँडुलेका आधा दर्जन घर पहिरोको जोखिममा परेका छन् ।
पहिरोको कारण करिव ९ करोडको लागतमा हालै निर्माण भएको रंगवैकटेश्वर मुक्तिनारायण मन्दिर र ७ करोडको लागतमा वेनेको शालग्राम संग्रालय र संस्कृत विषयमा कक्षा १० सम्म अध्यापन हुने मुक्तिनाथ वेद विद्याश्रम समेत उच्च जोखिममा परेको हो ।