काठमाडौं । सरकारले १ खर्ब ९१ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ । चालु आर्थिक वर्षमा सरकारले १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको थियो । पछि सरकारले यसलाई संशोधन गरेर १ खर्ब ९३ अर्ब रुपैयाँ आन्तरिक ऋण उठ्ने अनुमान गरेको थियो ।
अब केही नागरिक वचतपत्र मात्र बिक्री हुन बाँकी रहेको नेपाल राष्ट्र बैंकका प्रवत्ता डा. गुणाकर भट्टले बताए । हाल नागरिक वचतपत्र खुला गरिएको छ ।
उनकाअनुसार हालसम्म सरकारले १ खर्ब विकास ऋणपत्र, ९० अर्ब ट्रेजरी विल्स, १ अर्ब ४ करोड नागरिक वचतपत्र र ३ करोड रुपैयाँ वैदेशिक रोजगार वचतपत्र बिक्री गरेर आन्तरिक ऋण उठाएको छ ।
सरकारले चालु आर्थिक वर्षमा तय गरेको क्यालेन्डरअनुसार आन्तरिक ऋण उठाएको हो । सरकारले वैशाखदेखि असारसम्म १४० अर्ब रुपैयाँ आन्तरिक उठाउने लक्ष्य लिएको थियो । त्यसअघि सरकारले खासै ऋण उठाएको थिएन ।
चालु आर्थिक वर्ष २०७६/०७७ को दोश्रो त्रैमासमा २० प्रतिशत, तेश्रो त्रैमासमा ४० प्रतिशत तथा चौथो त्रैमासमा ४० प्रतिशत आन्तरिक ऋण उठाउने लक्ष्य लिएको थियो ।
सरकारले ट्रेजर विल, विकास ऋणपत्र, नागरिक वचतपत्र र वैदेशिक रोजगार वचतपत्र गरी ४ ओटा वित्तीय औजार प्रयोग गरेर आन्तरिक ऋण उठाउँदै आएको छ । सरकारका वित्तीय औजारहरु बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले खरिद गर्दै आएका छन ।
चालु आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्ब ९७ करोड रुपैयाँको बजेट बनाएको थियो । जसमध्ये ११ खर्ब १२ अर्ब रुपैयाँ राजश्व परिचालन, ९७ अर्ब ९९ करोड वैदेशिक अनुदान, २ खर्ब ९८ अर्ब ८३ करोड वैदेशिक ऋण र यसबाट पनि अपुग भएपछि १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको हो ।
कोरोना भाइरस महामारी फैलिएपछि नियन्त्रण गर्न सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन) आदेशबाट आर्थिक क्रियाकलाप ठप्प भइ राजश्व संकलनमा असर परेपछि सरकारलाई स्रोतको दवाव बढेको छ । मंगलबारसम्म लक्ष्यको ६१ प्रतिशत अर्थात ६ खर्ब ७९ अर्ब ४२ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।
कोरोना महामारी विश्वभरी फैलिएकाले द्धिपक्षिय मुलुकबाट नेपालले सहयोग पाउने संभावना न्युन छ । यसबीचमा एसियाली विकास बैंक (एडीबी) ले ३० अर्ब र अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सरकारलाई २६ अर्ब रुपैयाँ सहुलियत ऋण दिइसकेका छन । यस्तै विश्व बैंकले पनि ऋण सहयोग गरिसकेको छ ।
संघीय सरकारले द्धिपक्षिय र वहुपक्षिय दातृनिकायहरुबाट लिएको ऋण बढेर १२ खर्ब ६५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । जसमध्ये आन्तरिक ऋण ५ खर्ब ६१ अर्ब ५२ करोड र वैदेशिक ऋण ७ खर्ब ३ अर्ब ९७ करोड रुपैयाँ पुगेको अर्थ मन्त्रालयले जनाएको छ । आगामी आर्थिक वर्षमा सरकारले २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ ।