काठमाडौं । कोरोना भाइरस महामारीको प्रभावलाई देखाउदै कीर्तिपुरको चोभारमा निर्माण भइरहेको सुख्खा बन्दरगाह असोजमा नआउने निश्चित भएको छ । निकासी–पैठारीजन्य व्यापारलाई सोझै काठमाडौं उपत्यकासँग जोड्ने उद्देश्यले निर्माण भइरहेको सो सुख्खा बन्दरगाह असोजभित्र निर्माण सकिने लक्ष्य राखिएको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तगत नेपाल इन्टरमोडल यातायात विकास समितिले निर्माण गरिरहेको सुख्खा बन्दरगाहा निश्चित समयमा नसकिने निर्देशक युवक डङ्गोलले जानकारी दिए । भाइरसको प्रभावले अधिकाशं श्रमिकहरु घरमा गएको र फर्कन समस्या भएकोले काममा ढिलाई भएको उनले बताए ।
विश्व बैंकको सहयोगमा ११.७७ हेक्टर जग्गामा निर्माण भरहेको बन्दरगाहको लागत १ अर्ब ४८ करोड ३४ लाख रुपैयाँ रहेको छ । सुरुमा स्थानीयले विरोध गरेर करिब ८ महिना निर्माण ढिलाई भएको थियो भने अहिले कोरोना भाइरसले आयोजनाको काममा ढिलाई हुन गएको छ । बर्खायाम सुरु भएकोले अवको २/३ महिना काम नहुने भएकोले आयोजनाको म्याद थप हुने निर्देशक डंगोलले जानकारी दिए ।
स्थानीयको विरोधका बाबजुत २०७५ माघ ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सुख्खा बन्दरगाहाको शिलान्यास गरेका थिए । बन्दरगाह निर्माण भएपछि काठमाडौंका लागि छुटेको सामानहरु सम्बन्धित नाकाबाट पास लिएर सिधै चोभारमा आएर मात्र जाँच हुने छ । अहिले सम्बन्धित नाकामै चेक जाँच हुने गरेको छ । बन्दरगाहको काम दुई ओटा निर्माण कम्पनीहरु सान्छी आशिस जेभी भरतपुर र लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभी नयाँ बानेश्वरले गरिरहेका छन ।
सान्छी आशिस जेभीले बन्दरगाहाको मूल भवन,पार्किङ स्थल र गोदाम लगाएतका सरचनाहरु निर्माण गरिरहेको छ भने लुम्बिनी – कोशी एण्ड न्यौपाने जेभीले समितिको कार्यालय भवन एवम भन्सार सम्बन्धी भवन र अन्य पूर्वाधारहरु निर्माण गरिरहेको छ ।
बन्दरगाहा भित्र ५ ओटा गोदाम घर, प्रशासनिक भवन, सुरक्षा निकाय बस्ने २ ओटा भवन, सवारी नापतौल तथा नियन्त्रण कक्ष, कन्टेनर ग्राउण्ड स्लट ६ हजार वर्गमिटर, एक्जीम क्षेत्र १६९ चार तहमा राख्न मिल्ने ३५० ओटा ट्रक पार्किङ, ढल प्रशोधन केन्द्र, कुल आयोजना क्षेत्रको ६ प्रतिशत क्षेत्रफलमा हरियाली, फायर फाइटिङ , सिसिटिभि र सुरक्षाको व्यवस्था हुने छ ।