काठमाडौँ । काठमाडौँ महानगरपालिकाले व्यापार व्यवसाय गर्नेलाई नयाँ करका दर निर्धारण गरेको छ । गर्नेले स्थानीय सरकारलाई कति कर तिर्नुपर्ला रु काठमाडौं महानगर्ले आगामी आर्थिक वर्षका लागि नयाँ स्थानीय करका दर तोकेको हो ।
व्यापारिक वस्तु, विशेषज्ञ सेवा, उत्पादनमूलक उद्योग, कृषि तथा खाद्यान्न, होटल, पर्यटन तथा मनोरञ्जन व्यवसाय, सञ्चार सेवा तथा व्यवसाय, वित्तीय सेवा, स्वास्थ्य सेवा, शिक्षा तथा तालिमसम्बन्धी व्यवसाय, मर्मतसम्भार व्यवसायको कारोबारका आधारमा महानगरपालिकालाई कर बुझाउनु पर्ने भएको छ । नयाँ दरले व्यवसायीमाथि करको भार थपिएको छ । संविधानले स्थानीय तहलाई कर उठाउन अधिकार दिएको छ ।
मदिरा आयातकर्ताले व्यवसाय करबापत वार्षिक ३० हजार, चुरोट जस्ता सुर्तिजन्य पदार्थको व्यवसाय गर्नेले २५ हजार, खुद्रा किराना पसलले वार्षिक १ हजार २०० र होलसेल व्यवसाय गर्नेले वार्षिक ३ हजार रुपैयाँका दरले कर तिर्नुपर्छ ।
महानगरले डिपार्टमेन्टल स्टोरलाई १ लाख २५ हजार, कम्प्ल्लेक्सहरुले १० हजार वर्गफिटसम्म १ लाख र सोभन्दा बढी भए प्रति ४ हजार वर्गफिट २५ हजार रुपैयाँका दरले कर तिर्नुपर्ने जानकारी गराएको छ ।
मोटर र मोटरसाइकल बिक्री गर्ने कम्पनी तथा बिक्री केन्द्रहरुले वार्षिक ५० हजार, होटलहरुले स्तरअनुसार ५ हजारदेखि १ लाख, वाणिज्य बैंकहरुले केन्द्रीय कार्यालयका लागि १ लाख रुपैयाँ तथा शाखा कार्यालयका लागि ५० हजार र एक्स्टेन्सन काउन्टरका लागि २० हजार रुपैयाँ बुझाउनु पर्ने भएको छ ।
यसैगरी विकास बैंकले क्रमशः ७५, ४० र १५ हजार, वित्त कम्पनीले ५० हजार र २५ हजार, बीमा कम्पनीले ५० हजार र २० हजार तथा सहकारी संस्थाले २ हजारदेखि २५ हजार रुपैयाँ बुझाउनुपर्ने महानगरपालिकाले सार्वजनिक गरेको नयाँ आर्थिक ऐनमा उल्लेख छ ।
कलेजले १ लाख रुपैयाँ, निर्माण कम्पनीहरुले ५ देखि १५ हजार, सम्भार गर्ने व्यवसायले २ देखि २५ हजारसम्म, टेलिकम र मोबाइल कम्पनीहरुले प्रतिशाखा १ लाख रुपैयाँसम्म कर तिर्नुपर्ने भएको छ ।