काठमाडौं । हिमालय एयरलाइन्सले नयाँ गन्तव्यको रुपमा तिब्बतको ल्हासामा उडान गर्ने भएको छ । एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले अन्तर्राष्ट्रिय उडान खुलेपछि पहिलो गन्तव्य चीनको ल्हासा हुने बताए ।
‘बन्दाबन्दी (लकडाउन) नभएको भए यस अघिनै ल्हासामा उडान भइसक्थ्या’ उपाध्यक्ष श्रेष्ठले भने,‘अब उडान खुलेसँगै हाम्रो जहाजले नियमित रुपमा ल्हासामा उडान भर्ने छ ।
पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण गन्तव्यको रुपमा लिइएको ल्हासामा उडानका लागि आवश्यक तयारी सबै पुरा भइसकेको एयरलाइन्सले जनाएको छ ।
ल्हासामा हिमालयले नयाँ जहाज ए ३१९ को न्यारोबडीले उडान गर्ने छ । सो जहाजमा ८ वटा विजनेश क्लास सहित १२८ सिट रहेको छ ।
ल्हासामा उडान तालिका भने सार्वजनिक गरिएको छैन । त्यो बेलाको अवस्थामा हेरेर दैनिक वा साताको केही दिन उडान गर्ने योजना एयरलाइन्सको रहेको छ ।
हिमालयले लकडाउनअघि अबुधाबी, दमाम, दोहा, ढाका, क्वालालम्पुर, बेइजिङ्ग, गुइयाडं, चाडंशा, सेन्जेन र छोड्ंछिडं्मा उडान गर्दै आएको थियो ।
दमाममा ऐतिहासिक सञ्जाल विस्तार गरेर साउदी अरेबिया र नेपाल जोड्ने हिमालय एयरलाइन्स नेपालको एक मात्र विमान सेवा प्रदायक हो । यस्तै चीनमा उडान भर्ने पनि एक मात्र नेपाली एयरलान्स हिमालय हो ।
हिमालय एयरलान्सले अहिले ८ बिजनेस क्लास र १५० इकोनोमी क्लास सीट भएका तीन ए३२०–२१४ सिरिज र ८ बिजनेस क्लास र १२० इकोनोमी क्लास सीट भएको एक ए३१९–११५ जहाजले सेवा उपलब्ध गराउँदै आएको छ ।