काठमाडौं । सर्वोत्तम र अग्नीले गुणस्तरहीन सिमेन्ट उत्पादन गरेपछि नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही गरेको छ । एनएस मापदण्डभित्र रहेर सिमेन्ट उत्पादन नगरेको पाइएपछि उनीहरुलाई कानुन अनुसार कारबाही गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।
विभागका महानिर्देशक पुडासैनीका अनुसार, अग्नी सिमेन्टले चरम लापरबाही गरेर सिमेन्ट उत्पादन गरेको परीक्षणबाट फेला परेको हो । एनएस मापदण्ड अनुसार ओपीसी सिमेन्टको इन्सोलेबल रेसिड्यू (आइआर)को मात्रै २ प्रतिशत हुनुपर्नेमा अग्नीले उत्पादन गरेको ओपीसी सिमेन्टमा आइआरको मात्रा ७.६ प्रतिशत पाइएको छ । त्यसैगरी, अग्नी सिमेन्टको पीपीसी पनि गुणस्तरहीन रहेको पाइएको छ ।
त्यसैगरी, सर्वोत्तमको ओपीसी सिमेन्टमा पनि आइआरका मात्रा बढी पाइएपछि विभागले कारबाही गरेको छ । कानून अनुसार २ प्रतिशत मात्रै आइआर हुनुपर्नेमा सर्वोत्तमको ओपीसी सिमेन्टमा ७.७ प्रतिशत पाइएको विभागले जनाएको छ ।
‘आइआरको मात्रा बढी हुनु भनेको सिमेन्टमा माटो, धुलो तथा काम नलाग्ने वस्तुको मिश्रण बढी हुनु हो’ पुडासैनीले भने, ‘दुई कम्पनीले उत्पादन गरेको सिमेन्टमा माटोको मात्रा वा धुलोको मात्रा बढी पाइएपछि कारबाही गरिएको हो ।’
विभागका अनुसार, यसअघि इजाजतपत्र स्थगन गरेको उद्योगले पनि धमाधम सिमेन्ट बनाएर बेचिरहेको पाइएपछि उनीहरुको इजाजत रद्द गरिएको छ ।
इजाजत रद्द हुने उद्योगहरुमा रिलायन्स सुपरटेक, इन्टरनेसनल सिमेन्ट र एभरेष्ट ग्यास उद्योग रहेका छन् । ती उद्योगले तीन महिनासम्म उत्पादन गर्ने पाउने छैनन् । विभागले कमला रोलिङ मिल्सले पनि गुणस्तरहीन रड उत्पादन गरेपछि विभागले कारबाही गरेको हो ।