तारे होटलका कर्मचारीले चैतदेखि तलब पाएनन्, म्यारियटले ३३ प्रतिशत दियो, श्रमिकले मागे २० हजार 

account_box सुवास याेञ्जन ,
प्रकाशित: २०७७ असार १२, शुक्रबार,०५:२८:PM  
तारे होटलका कर्मचारीले चैतदेखि तलब पाएनन्, म्यारियटले ३३ प्रतिशत दियो, श्रमिकले मागे २० हजार 

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को प्रभावपछि बन्द भएको होटलहरुले श्रमिकहरुलाई चैतदेखिको तलब दिएका छैनन् । सरकारले चैत महिनाको पुरै र बैशाखको आधा तलब दिन होटल सञ्चालकहरुलाई निर्देशन दिएको भए पनि हालसम्म तलब नपाएको श्रमिकहरुको गुनासो छ ।

होटल एशोसिएसन अफ नेपाल (हान)ले भने बन्दाबन्दी (लकडाउन) का कारण व्यवसाय पूर्ण रुपमा बन्द भएको कारण श्रमिकहरुलाई १२.५ प्रतिशत मात्र तलब दिन सक्ने प्रस्ताव राख्दै आएको छ । तर, श्रमिकहरुले भने सरकारले गरेको निर्णय अनुसार नै तलब पाउनु पर्ने अडानमा छन् ।

अन्नपूर्ण, सोल्टी, ह्यात्, मल्ल, साँग्रिला, याक एन्ड यति, ¥याडिसन, अलफ्ट लगायतका तारे होटलहरुले कामदारलाई १२.५ प्रतिशत तलब दिने भने पनि चैतदेखि तलब दिएका छैनन् ।फेयरफिल्ड म्यारियट र काठमाडौं म्यारियटले भने कामदारलाई ३३ प्रतिशत तलब दिएको छ । कामदारहरु पनि महिनाको १० दिन मात्र उपस्थित भएर काम गरिरहेका छन् । 

‘होटल पूर्णरुपमा बन्द भए पनि हामीले ३३ प्रतिशत तलब दिदैं आएका छौं,’ दुवै म्यारियट होटलका सञ्चालक शशिकान्त अग्रवालले बताए । ‘कामदारलाई दिनुपर्ने ‘सर्भिस चार्ज’को रकम पनि महिना महिनामै दिएका छौं, सर्भिस चार्जको रकम हामीले एक महिनापनि होल्ड गरेनौं’ उनले भने ‘होटलमा कामदारहरुलाई महिनाको १० दिन मात्र बोलाएका छौं, पालैपालो कामदार आइरहेका छन्, यसले कामदार र व्यवस्थापन दुवैलाई सहज भएको छ ।’ 

हानले भने कादारलाई १२.५ प्रतिशतमात्र तलब दिने प्रस्ताव गर्दै आइरहेको छ । होटल सञ्चालक र श्रमिकबीच कुरा मिल्न नसकेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समेत यस विषयमा पटक पटक छलफल गरेको छ । छलफलमा पनि होटल व्यवसायीहरुले साढे १२.५ प्रतिशत मात्र तलब दिन सकिने अडान राख्दै आएको छ ।

हानका प्रथम उपाध्यक्ष विनायक शाहले चैत महिनाको तलब दिएको र बैशाखदेखि यताको तलब दिन नसकिएको जानकारी दिए । सरकारको निर्णय अनुसार श्रमिकहरुले तलब मागिरहेको र आफुहरु त्यो निर्णय अनुसार दिन सक्ने अवस्थामा नरहेको बताउँदैं आएका छन् ।

अहिले केहि होटलहरुले भने यसअघि होल्ड गरेको सेवा शुल्क बापतको रकमहरु बाँडिरहेको भन्दै श्रमिकहरुसँग छलफल गरी मध्यमार्गी बाटोबाट निर्णय गरेर तलब दिन आफुहरुको तयारी रहेको बताएका छन् ।

होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघका अध्यक्ष मुक्ति दाहालले चैतपछिको तलब नपाएको बताए । ‘श्रमिकहरुको तलबका विषयमा धेरै पटक सञ्चालकहरुसँग छलफल भइरहेको छ, अब छिट्टै निचोड निस्कन्छ,’ उनले भने । 

मजदूर युनियनहरुले सञ्चालकहरुसँग न्यूनतम २० हजार रुपैयाँसम्म तलब दिन माग राखेका छन् । ‘एउटा श्रमिकको घर चलाउनलाई न्यूनतम २० हजार तलबको प्रस्ताव राखेका छौं,’ अध्यक्ष दाहालले भने, यसमा होटल सञ्चालकहरु सकारात्मक हुनुहुन्छ तर, निर्णय भएको छैन’ । 

अहिले होटलहरुको अवस्था नाजुक भएको कुरा सबै श्रमिकहरुलाई थाहा भएको कारण यसमा दुबै पक्षबीचको सहमतिमा केहि दिनभित्रै पारिश्रमिकको विषयमा निर्णय हुने उनको भनाई छ । लामो समयदेखि तलब नपाउदा श्रमिकहरु समस्यामा परेको बताउँदैं दुवै पक्षको जीत हुने गरी सहमति गराउन थालिएको उनले बताए ।

 

सुवास याेञ्जन

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पर्यटन बाट थप

Top