काठमाडौं । कर्मचारी सञ्चय कोषले आफनो ऋण लगानीमा निर्माण भइरहेका जलविद्युत आयोजनाहरुको ब्याजदर घटाउने भएको छ । ब्याजदर घटाउन सञ्चय कोषले आयोजनामा गरेको लगानीको पुनरावलोकन गरिरहेको छ ।
सञ्चय कोषले आयोजनाको ब्याजदर घटाउनुका साथै कर्जा तिर्ने अवधि (पेव्याक परियड) समेत बढाउने तयारी गरेको छ । साउन १ गतेदेखि जलविद्युत आयोजनाको ब्याजदर घट्ने संभावना रहेको सञ्चय कोषका वरिष्ठ प्रवन्धक अर्जुनकुमार गौतमले बताए ।
बैंकहरुले ब्याजदर घटाउन थालेपछि सञ्चय कोषले पनि पुनरावलोकन गर्न लागेको उनको भनाई छ । कति घट्छ अध्ययनपछि मात्र थाहा हुने उनले जानकारी दिए । कार्यदलले ब्याजदरको मूल्याँकन गरिरहेको छ । कोषको सञ्चालक समितिले पारित गरेपछि मात्र नयाँ ब्याजदर लागु हुने छ ।
बैंकहरुले मुद्धति निक्षेप र कल डिपोजिटको ब्याज घटाइरहेका बेला कोषले पनि घटाउन लागेको उनले सुनाए । कोभिड महामारीका कारण ब्याजदर सस्तो बनाउन बैंक तथा वित्तीय संस्थाहरुले प्रशासनिक खर्च कटौति गरिरहेका छन । खर्च कटौतिले ब्याजदर १.५ प्रतिशतसम्म घट्ने बैंकहरुले बताउँदै आएका छन ।
कोषको लगानीमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोसी र ५७ मेगावाटको माथिल्लो र तल्लो सान्जेन जलविद्युत आयोजनाहरु निर्माण भइरहेका छन । यी आयोजनाहरुमा सञ्चय कोषले २७ अर्ब १६ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।
यी आयोजनाको निर्माण अवधि थपिएपछि लागत बढेको छ । माथिल्लो तामाकोसी कात्तिकसम्म सञ्चालनमा आउने भएको छ । यस्तै रसुवागढी र सान्जेन आयोजना आगामी वर्षभित्र सञ्चालनमा आउने छन ।
गत साउनदेखि कोषले जलविद्युत आयोजनाको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएको छ । जलविद्युत आयोजनालाई १०.७५ प्रतिशत छ । कोषको यो निर्णयले जलविद्युत आयोजनालाई केही राहात हुने भएको छ ।
५ ओटा आयोजनाको जडित क्षमता ८२६ मेगावाट छ । यी आयोजना निर्माणको अन्तिम चरणमा छन । ब्याजदर कम भएपछि आयोजनाको लागत कम हुने छ ।
यस्तै सञ्चय कोषले सञ्चयकर्ताबाट लिने र दिनेको ब्याजदर पनि घटाउने तयारी गरेको छ । पछिल्लो समयमा कोषले निक्षेप–कर्जा अनुपात (स्प्रेड) दर १ प्रतिशत मात्र राख्ने तयारी गरेको छ ।
माथिल्लो तामाकोसीसँग १२ प्रतिशत ब्याजदरमा ऋण सम्झौता गरे पनि कोष आफैंले घटाउँदै आएको छ । माथिल्लो तामाकोसी, रसुवागढी, मध्य भोटेकासी र सान्जेन आयोजनाहरुको निर्माण अवधिको ब्याजदर ऋणमा पुँजीकरण हुन्छ । कोषले तामाकोसीको पेव्याक पिरियड बढाएर १५ वर्ष पुर्याउने भएको छ ।