काठमाडौं । निर्माणधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सबैभन्दा जोखिमपूर्ण माथिल्लो पेनस्टक स्याफ्टमा पाइप राख्ने काम सकिएको छ । करिब १ हजार फीट अर्थात ३०५ मिटर अग्लो माथिल्लो पेनस्टक स्याफ्टको अन्तिम पाइप राख्ने काम सोमबार सम्पन्न भएको छ ।
ठाडो पेनस्टक पाइपको काम सकिएकाले एक अर्को खुड्किलो पार भएको आयोजनाले जनाएको छ । करिब १ हजार २०० फीट अर्थात ३६७ मिटर अग्लो तल्लो पेनस्टक स्याफ्टको अन्तिम पाइप जडानको काम जेठ महिनामा सकिएको छ ।
२७ टनसम्मका ५ मिटर लम्बाइका पाइपहरू ३७० मिटरसम्म माथिबाट एक एक गर्दै झार्नु आफैंमा अत्यन्त जोखिमका साथै कुनै बेला वेल्डिङ गर्दा धुँवाको मुस्लोहरू हटाउन कठिनाइले कामदारहरूलाई काम गर्नु समस्याका साथै पानी तर्काउने काममा जटिलता आउनु अनि ढुँगाहरू माथिबाट झर्ने डरका बीचमा पेनस्टकको काम सकिएको आयोजनाले जानकारी दिएको छ ।
पेनस्टक पाइप सम्पन्न गर्ने भारतीय कम्पनी टेक्स्म्याको तथा खन्ने र ब्याक्फिल कंक्रिट गर्ने चिनिया कम्पनी सिनो हाइड्रोका साथै परामर्शदाता कम्पनीको ल्याह्मेयर इन्टरनेसनल र पेनस्टक स्याफ्ट सम्पन्न गर्ने एन्द्रिज हाइड्रो रहेका छन ।
अब तेर्सो सुरुङहरूमा पेनस्टक पाइपहरू जडान, ग्राउटिङ र लाइनिङ, फिनिसिङ सकेर प्रेसर टेस्टिङका कार्यहरू बाँकी रहेका छन । यी काम सक्न बन्दाबन्दी (लकडाउन) ले असर गर्ने देखिएको छ ।
सहज ढंगले ती कार्यहरू अघि बढेमा बाँकी काम ३ महिनाभित्र सम्पन्न गरी आगामी कात्तिकभित्र बत्ती बाल्न सुरु गर्ने लक्ष्य लिएको आयोजनाले जानकारी दिएको छ ।
यसअघि असारभित्र आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन र कात्तिकसम्म सबै युनिट सञ्चालनमा ल्याउने तयारी आयोजनाको थियो ।
कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण आयोजनाको काम प्रभावित हुँदा असारभित्र पहिलो युनिट सञ्चालनमा आउन नसकेको हो ।
अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा गत असार १ गते र माथिल्लोमा असार ९ गतेबाट पेनस्टक पाइप जडान शुरु गरिएको थियो ।
आयोजनाबाट २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने छ । तामाकोसीको भौतिक प्रगति अन्तिम चरणमा पुगेको छ । यस्तै प्रसारणलाइनको काम सकिन लागे पनि खिम्तिमा सवस्टेशन बनाउने काममा ढिलाइ हुन गएको छ ।