काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले चिनियाँ साझेदारसंग बनाउन लागेको ३२७ मेगावाटको माथिल्लो मस्र्याङदी–२ जलविद्युत आयोजना विकास सम्झौता (पीडीए) को चरणमा पुगेको छ ।
लगानी बोर्डले आयोजना बनाउन चीनबाट ७८ अर्ब ६५ करोड रुपैयाँ वैदेशिक लगानी ल्याउन स्वीकृत गरेपछि अब पीडीए हुने भएको हो । पीडीएका लागि आयोजनाले लगानी बोर्डमा आवेदन दिइसकेको छ ।
बोर्डले लगानी स्वीकृत गरेकाले पीडीएको प्रक्रियामा अघि बढेको बीपीसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठले बताए । उनले बोर्डसंग पीडीए भएपछि नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिदबिक्र सम्झौता (पीपीए) र विद्युत उत्पादन अनुमतिपत्र (लाईसेन्स) लिने उनले जानकारी दिए । आयोजनाको क्षमता ६०० मेगावाटबाट घटेर ३२७ मेगावाट कायम भएको छ ।
जीएमआर इनर्जी लिमिटेडले भारत निकासी प्रयोजनका लागि आयोजना क्यू २८ मा डिजाइन गरेको थियो । क्यू २८ मा डिजाइन गर्दा आयोजनाको जडित क्षमता ६०० मेगावाट थियो । विद्युत प्राधिकरणले क्यू ४० भन्दा कम डिजाइनका आयोजनासंग पीपीए नगर्ने नीति ल्याएपछि आयोजनाको क्षमता घटेको हो ।
बीपीसीले जीएमआरसंग साढे ३ अर्ब रुपैयाँमा सो आयोजना खरिद गरेको हो । आयोजना बीपीसीले ३ ओटा चिनियाँ कम्पनीसंग साझेदारीमा बनाउने भएको छ ।
बीपीसी र ३ ओटा चिनियाँ कम्पनीले एससीआईजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेड गठन गरिसकेका छ । यो कम्पनीमा बीपीसीको १९.५ र बाँकी ७९.५ प्रतिशत चिनियाँहरुको छ ।
पीपीएका लागि विद्युत प्राधिकरणमा आवेदन दिएको छ । चीनबाट डलरमा लगानी आउने भएकाले आयोजनालाई डलरमा पीपीए र परिवत्र्य मुद्रा जोखिम व्योहर्न हेज फण्ड आवश्यक भएको उनको भनाई छ ।
बीपीसीले चिनियाँ साझेदारीमा माथिल्लो मस्र्याङदी र १४० मेगावाटको तल्लो मनाङ मस्र्याङ्दी आयोजना पनि अघि बढाएको छ । दुई आयोजनाको जडित क्षमता ४६७ मेगावाट छ ।
बीपीसीले तल्लो मनाङ मस्र्याङदीको ८०.६ प्रतिशत सेयर चिनियाँ कम्पनीलाई बिक्री गरिसकेको छ । एसीआईजीमा बीपीसीको १९.४ प्रतिशत सेयर छ ।
एससीआईजीमा बीपीसीका अतिरित्त एससीआईजी इन्टरनेसनल लिमिटेड, जीचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड, क्युआईइसी इन्टरनेसनल कम्पनी लिमिटेड हङकङको लगानी रहने छ ।
आयोजनाको संरचना मनाङको नासोङ गाउँपालिकाम रहनेछ । आयोजनाबाट उत्पादन हुने बिजुली नासोङ गाउँपालिकाको घेलाञ्चोक र ओडार गाउँमा प्रस्तावित २२० केभी मनाङ हवमा ल्याएर जोडिने छ ।बीपीसीले नेपालमा १ हजार मेगावाट बिजुली उत्पादन गर्न चीनबाट २ खर्ब रुपैयाँ बढी वैदेशिक लगानी ल्याउन चिनियाँसँग सम्झौता गरेको छ ।
होल्डिङ कम्पनीमार्फत आउदो ५ वर्षमा थप १ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ । बीपीसीले ३० मेगावाटको न्यादी आयोजनाको निर्माण गरिरहेको छ ।