लकडाउनले मुलुकलाई यसरी पुग्यो फाइदाः उद्योगी/व्यवसायीलाई पनि ठूलो राहत

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार १६, मङ्गलबार,०३:४०:PM  
लकडाउनले मुलुकलाई यसरी पुग्यो फाइदाः उद्योगी/व्यवसायीलाई पनि ठूलो राहत

काठमाडौं । सरकारले लकडाउनसँगै सीमामा कडाई गरेपछि त्यसको प्रत्यक्ष फाइदा मुलुक भित्रका उद्योगी/व्यवसायीलाई परेको छ । सरकारले सीमानामा कडाई गरेपछि सामान किन्न भारत जान नपाएको र उनीहरुले नेपाली उत्पादन नै खरिद गरेपछि त्यसको प्रत्यक्ष फाइदा उद्योगी/व्यवसायीलाई परेको हो ।

उद्योगीका अनुसार दैनिक उपभोग्य वस्तुदेखि औषधि खरिद गर्नसम्म छिमेकी मुलुक भारत जाने गर्थे । तर, अहिले सरकारले सीमानामा कडाई गरेपछि पारिपट्टी सामान किन्न जान सक्दैनन् । बाध्य भएर स्वदेशी उद्योगबाट उत्पादित सामान किनेर प्रयोग गर्न थालेको उद्योगीहरु बताउँछन् ।

‘तराई क्षेत्रमा बसोबार गर्ने मान्छेले हरेक सामान भारतबाट ल्याउँथे । नेपालको तुलनामा भारतमा केही सस्तो भएकाले उनीहरु केही आवश्यक पर्ने वित्तिकै पारी गइहाल्ने प्रचलन थियो,’ वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष राजेश केडियाले भने, ‘तर, जुन बेलादेखि मुलुकमा लकडाउन भयो, त्यो बेलाबाट पारी जान पनि बन्द भयो र स्वदेशी उद्योगबाट उत्पादित सामान खरिद गर्ने क्रम बढेको हो ।’

सीमानामा कडाई गर्ने वित्तिकै झण्डै २० प्रतिशतसम्म माग बढेको उद्योगीहरु बताउँछन् । लकडाउन पछि मासु, फलफूल, खाद्यान्न, तेल, मल, बिउ, कपडा, जुत्ता, चप्पल, चिनी, साबुनलगायतका दजर्नौ उद्योग फस्टाएको उद्योगीहरु बताउँछन् ।

माथि उल्लेखित सामान किन्न नेपालीहरु भारत जाने क्रम रोकिएको छ । यसले नेपालको बजारमा अर्बौ रुपैयाँको व्यापार बढाएको केडियाले जानकारी दिए । उनका अनुसार खाद्य उद्योगको व्यापार मात्रै १० देखि २० प्रतिशत बढेको छ । त्यसैगरी, मासुको माग पनि सोही हाराहारीमा बढेको उनको भनाइ छ ।

सामान्य भन्दा सामान्य सामान लिन पनि नेपालीहरु भारतीय बजारमा पुग्ने गर्थे । तर, अहिले यता (नेपाल) बाट उता (भारत) तीर जान पूर्ण रुपमा बन्द छ । त्यसले नेपालको अर्थतन्त्रलाई ठूलो सहयोग पुर्याएको उद्योगीहरु बताउँछन् ।

कपडा उत्पादक संघका उपाध्यक्ष जीतेन्द्र लोहियाले लकडाउन पछि कपडाको तस्करी पूर्ण रुपमा रोकिएको बताए । ‘अहिले जे जति खपत भइरहेको छ, नेपाली उत्पादन र औपचारिक माध्यमबाट आएको कपडा मात्रै विक्री भइरहेको छ । तस्करी बन्द छ,’ लोहियाले भने, ‘पहिलोको तुलनामा अहिले कपडाको व्यापार कानुनी तवरबाट चलिरहेको छ ।’

त्यसैगरी, जुत्ता/चप्पलको व्यापारमा पनि अप्रत्यासित रुपमा सुधार आएको उद्योगीहरु बताउँछन् । लकडाउन अघिसम्म दिनको १० गाडी चप्पल उत्पादन गर्ने उद्योगले अहिले दिनको ५० गाडी चप्पल उत्पादन गर्न लागेको बताए । यसबाट के कुरा पुष्टि हुन्छ भने–छिमेकीबाट दैनिक रुपमा कति सामान नेपाल भित्रिन्थ्यो भन्ने देखिन्छ ।

तराई क्षेत्रमा बसोबार गर्ने मानिसहरु सामान्यतय दैनिक उपभोग्य वस्तु किन्न मात्रै भारतीय बजारमा जाने हुन् । अहिले जान रोक्ने वित्तिकै हरेक दैनिक उपभोग्य वस्तुको माग बढेको उद्योगीहरु बताउँछन् ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top