काठमाडौं । माटोको इँटा भट्टा सञ्चालनले एक वर्षमै हजारौं बिगाह खेतीयोग्य भूमि नष्ट गरिरहँदा नेपालले त्यसलाई रोक्न सकेका छैन् । जबकि, माटोको इँटाभट्टाले खेतीयोग्य भूमि नष्ट गरेको निश्कर्ष निकाल्दै छिमेकी भारतले धमाधम बन्द गराइरहको छ ।
भारतले ७० प्रतिशतभन्दा बढी माटोको इँटा भट्टा बन्द गराएर कंक्रिटबाट इँटा बनाउने उद्योगलाई प्रोत्साहन गरिरहेको छ । यतिसम्म कि, हरेक सरकारी निर्माणमा अनिवार्य रुपमा कंक्रिटबाट बनेको इटा मात्रै प्रयोग गर्नुपर्ने बाध्यकारी समेत बनाइरहेको छ ।
भारतको हरियाणामा पूर्ण रुपमा माटोको इँटाभट्टा भन्द भइसकेका छन् । त्यसैगरी, उत्तरप्रदेशका आधा भन्दा बढी इँटाभट्टा बन्द भइसकेका छन् । मद्रासमा सबै भट्टा बन्द छन् । बैंलोरमा एउटा पनि माटोको इँटाभट्टा छैनन् । मुम्बईमा बन्द भइसकेको छ ।
नेपालमा अहिले पनि बर्षको हजारौ बिगाह खेतीयोग्य भूमि माटोको इँटाभट्टाले सिध्याउँदा पनि सरकारले कुनै चासो नदिएको सरोकारवालाहरुले बताएका छन् ।
एरोलाईट प्रालिका कार्यकारी निर्देशक सुवास अधिकारीले कंक्रिटबाट बन्ने इँटालाई प्रोत्साहन र माटोको इँटाभट्टालाई निरूत्साहित गर्दै लैजानु पर्ने बताउँछन ।
देशभर ठूलो संख्यामा माटोको इँटाभट्टा छन्, उनले भने ती उद्योगलाई बिस्तारै हटाउँदै लैजानु पर्ने हुन्छ ।आधुनिक तरिकाबाट इँटा बनाउने उद्योग लागिसकेका छन्, ती उद्योगहरुलाई ब्याज र करमा छुट दिनुपर्ने अधिकारीले बताए
एक कंक्रिट उधाेग सञ्चालकका अनुसार एक इँटाभट्टाले प्रत्येक वर्ष ५ बिगाह खेतियोग्य जग्गा विनाश गर्छ । । इँटा बनाउनका लागि जहाँबाट माटो निकालिन्छ, त्यहाँ पछि कुनै खेती हुँदैन । त्यहाँ खाल्टो परेको हुन्छ पानी जम्छ ।
‘नेपालका बर्षौदेखि माटोको इँटाभट्टा चलाइरहेको छ,’ उनले क्यापिटल नेपालसँग भने, ‘कति खेतीयोग्य भूमि सकियो होला, यसको लेखाजोखा नै छैन् ।’
‘संसारभर माटोको इँटाभट्टालाई विस्थापित गरिँदै छन् । युरोप तथा अमेरिका, खाडी मुलुकमा एउटा पनि माटोको इँटाभट्टा छैनन् । भारतमा पनि यस्ता इँटाभट्टा बन्द गराइँदै छ,’ उनले भने, ‘तर, नेपालमा अझै प्रोत्साहन गरिँदै छ । यसले कति प्रदुषण गर्छ र कति खेतीयोग्य जमिन सिध्याउँछ भन्ने हेक्का सरकारी अधिकारीलाई अझै छैन् ।’
उद्योग विभागले उपलब्ध गराएको तथ्यांक अनुसार नेपालभर १ हजार इँटाभट्टा छन् । इँटाभट्टाले देशभरमा प्रत्येक वर्ष ५ हजार खेतीयोग्य भूमि नष्ट गरिरहेका छन् । फेरी यसबाट अत्यन्तै हानिकारण धुवा निस्किन्छ, जसले वातावरण पूरै प्रदुषण गर्ने वातावरणविद्हरु बताउँछन् ।
माटोको इँटाभट्टाले अत्यधिक प्रदुषण गर्ने र खेतीयोग्य भूमि सिध्याउने भएका कारणले विश्वभर यसलाई विस्थापित गरेर कंक्रिटबाट इँटा बनाउन थालिएको छ । विदेशमा माटो खन्न नै बन्द गरिएको छ ।
अहिले नेपालमा पनि अहिले दजर्नौ कंक्रिटबाट इँटा बनाउने उद्योग लागिसकेका छन् । यी उद्योगले न प्रदुषण नै निकाल्छन्, न खेतियोग्य जमिन नै सिध्याउँछन् । सरकारले माटोको इँटालाई बन्द गरेर कंक्रिट ब्रिक्सलाई प्रोत्साहन गर्न सकेको सम्बद्ध क्षेत्रका लगानीकर्ता बताउँछन् ।
कंक्रिटबाट बन्ने इँटाको सम्पूर्ण कच्चा पदार्थ भनेको सिमेन्ट, बालुवा र गिटी हो । यो निकाल्दा पनि कुनै प्रदुषण वा खेतीयोग्य जमिन नसिधिने ती उधाेगी बताउँछन् ।
‘नेपालमा उसै पनि खेतियोग्य जमिन एकदमै सीमित छ । खेतीयोग्य जमिन भनेको तराई क्षेत्र मात्रै हो । जति इँटाभट्टा छन्, ती पनि तराईमै छन्,’ ती उधाेगीले भने, ‘एक इँटाभट्टाले प्रत्येक वर्ष ५ विगाह जमिन नष्ट गर्दा तराईको खेतीयोग्य भूमि कहिलेसम्म टिक्छ ? अहिलेसम्म कति खेतीयोग्य भूमि नष्ट भइसकेको होला ?’
सरकारले इँटा उद्योगलाई विस्तापन गर्ने कुरा पटक–पटक ल्याउँछ । तर, त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दैन । अहिलेको बिडम्बना यही भएको व्यवसायीको भनाइ छ ।
अहिले देशभित्र कंक्रिटबाट इँटा बनाउने उद्योग लागिरहेका छन् । विश्वका भएका नयाँ नयाँ प्रविधि नेपाल आउन सक्छ । पहिला माटोको इँटाभट्टालाई विस्थापन गर्नु पर्ने व्यवसायीहरु बताउँछन् । सरकारले कडाई गर्ने बित्तिकै मोटोको इँटाभट्टा आफै बन्द हुन्छ ।
नेपालमा सरकारी भवन निर्माणमा चिम्नीबाट बनाइएको इँटा मात्रै प्रयोग गर्ने भनिएको हुन्छ । कंक्रिटबाट बनेको इँटा लगाउन माथिबाट निर्देशन नै हुँदैन । मोटोको इँटाभट्टाबाट बनेको इँटा मात्रै लगाउनुपर्ने हुन्छ भन्ने गरेका छन् ।